डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले बुधवार सार्वजनिक सूचना जारी गरी जिल्लावासीलाई मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको हो ।
प्रशासनले होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ । त्यस्तो गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनले जथाभावी रङ लगाउने, कोही कसैको इच्छाविपरित हानिकारक वस्तु दल्ने कार्य नगर्न आग्रह गरेको छ ।
प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न प्रशासनको आग्रह छ ।
कोही कसैले कानुनको बर्खिलाप हुने क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम सजाय हुने समेत सूचनामा उल्लेख छ ।














