धनगढी । आफ्नो घर वरिपरि रहेका भंगेरा गनेर आज विश्व भंगेरा दिवस मनाइएको छ। भंगेराका अवस्था पत्ता लगाउन र जनचेतना फैलाउनका लागि मार्च २० मा विश्व भंगेरा दिवस मनाइने गरेको छ ।
दिवसको अवसरमा कैलाली, कञ्चनपुरमा चराको क्षेत्रमा काम गर्ने संघसंस्थासहित चरा संरक्षणकर्मी, चराप्रेमीले आ–आफ्नो घर वरिपरि पाइने भंगेरा गणना गरेका छन् । यसैगरी, भंगेराले गुँड बनाउनका लागि रुख, घरमा कागजको बट्टा राख्ने, विद्यार्थीमाझ जनचेतना फैलाउने लगायतको कार्य गरिएको छ।
चराप्रेमीहरुले आफ्नो घर वरिपरि करिब एक सय मिटरभित्र २० मिनेटसम्म भंगेरा गणना गरेर दिवस मनाएको चराविद हिरुलाल डङ्गौराले बताए । उनका अनुसार हाम्रो घर वरिपरि सजिलै पाइने भंगेराको संख्या अन्य प्रजातिका चराको तुलनामा तीव्र रुपमा कम भइरहेको छ।
सहरीकरण, वातावरणमैत्री घर नहुनु, ग्रामीण क्षेत्रमा विषादी राखेर मार्नु लगायतका कारणले भंगेराको संख्या घटिरहेको जनाइएको छ। यिनीहरुको संरक्षणका लागि वातावरणमैत्री भौतिक संरचना निर्माणका साथै गुँड लगाउने ठाउँ बनाइ दिन आवश्यक रहेको जनाइएको छ।
नेपालमा घर भंगेरा, रुख भंगेरा, कैलो भंगेरा र पीतकण्ठे भंगेरा गरेर चार प्रजातिका भंगेरा पाइने गरेका छन्। भंगेरा दिवसको अवसरमा कञ्चनपुर चरा संरक्षण समूहले विद्यार्थीमाझ भंगेरा संरक्षणबारे जनचेतनामूलक कार्यक्रमसमेत गरेको छ।
पछिल्लो समय घर वरिपरि कम भंगेरा देखिन थालेपछि धनगढीमा कतिपयले भंगेरा बस्न र गुँड लगाउनका लागि आ(आफ्नो घरमा कागजको बट्टा झुण्ड्याइ दिने गरेका छन् ।
मोटरसाइकल मर्मत गर्दै आएका वीरबहादुर चौधरीले मोटरसाइकलको पार्टपूर्जा राखेको बट्टा पसल वरिपरि झुण्ड्याइ दिँदा त्यसमा भंगेराले गुँड बनाएर बचेरा निकाल्ने गरेको बताए। “मैले धेरै बट्टाहरु झुण्डयाएको छु”, उनले भने,“प्रायः सबैमा भंगेराले गुँड बनाएका छन्।”
यसैगरी, धनगढी उपमहानगरपालिकाले भंगेरा लगायत अन्य प्रजातिका चराले गुँड लगाउनका लागि धनगढीको सडक क्षेत्रमा चराका लागि कृत्रिम घरहरु बनाइ दिएको छ। स्थानीय समुदाय र पालिकाबाट भइरहेको यस्तो स–साना प्रयासले भंगेरा संरक्षणमा सहयोग पुग्ने चराविद डङ्गौराको भनाइ छ।














