डडेल्धुरा – उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाउदा क्षयरोगका बिरामी उपचारको पहुँच भन्दा बाहिरै रहने गरेका छन । सरकारले क्षयरोगविरुद्धको औषधि निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । नियमित उपचार गरे क्षयरोग निको हुन्छ । जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाउदा धेरै बिरामी अस्पताल सम्म नै आउदैनन । आएका बिरामी पनि विभिन्न वाहानामा भाग्ने प्रवृत्ति रहेको देखिएको जिल्ला स्वास्थ्य कार्यलय डडेल्धुराले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा साढे तीन हजार बढी क्षयरोगी रहेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा सोमबार डडेल्धुरामा विश्व क्षयरोग दिवसको अवसरमा सञ्चारकर्मीहरु सँगको अन्तरकृया कार्यक्रममा स्वास्थ्य कार्यालयका अधिकृत हरिप्रसाद भट्टले प्रस्तुत गरेको तथ्यांक अनुसार डडेल्धुरामा आर्थिक बर्ष २०८०/०८१ मा १४६ जना क्षयरोगका बिरामीहरु फेला परेका छन ।
पालिका स्तरमा हेर्दा अमरगढीमा ३२ जना, गन्यापधुरामा १५ जना, भागेश्वरमा १२ जना, नवदुर्गामा २० जना, आलितालमा १८ जना, परशुराममा १५ र अजयमेरुमा १२ जना क्षयरोगीका बिरामी फेला परेका छन । कुल तथ्यांकको ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिलाहरु संक्रमित रहेका छन । डडेल्धुरामा क्षयरोगका बिरामी सन्चो हुने दर ८८% रहेको छ भने यस आर्थिक बर्षको माघ महिनासम्म जम्मा २ जनाको मृत्यु भएको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार ६ सय १२ जना क्षयरोगी फेला परेका छन । तर, लक्ष्यअनुसार बिरामी पत्ता लगाउन सकिए छैन ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल बनाउने लक्ष्य रहेको छ । नेपालमा क्षयरोग उपचार सफलता दर ९२ प्रतिशत रहेको र नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ।
विश्वमा हरेक बर्ष ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क छ । “हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं।लगानिको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता,आजको आवश्यकता”भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तर्कृया कार्यक्रममा क्षयरोगको वर्तमान अवस्थाबारे अधिकृत भट्ट्ले जानकारी दिए ।
नेपालमा क्षयरोगको अवस्था, न्यूनीकरणका चुनौती, उपचारको उपलब्धता, भौगोलिक हिसाबमा बिरामीको अवस्थालगायतका विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साउँदको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख,प्रमुख गगन सिंह भण्डारी प्रमुखजिल्ला अधिकारी,डडेल्धुरा अस्पतालका मे.सु नरेन्द्र खनाल तथा सञ्चारकर्मीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ।
नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन्। हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन्। तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।














