अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो माग्ने महिला पक्राउ

Image

हेटौँडा । अमेरिकी नागरिकलाई अपहरण गरि तीन लाख युरो फिरौती माग्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई प्रहरीले अपहरण मुक्त गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धालाई अपहरण गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो । ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार अपहरण पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहेका छन ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेकी थिईन । अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो ।

प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।