डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आईतबार डडेल्धुरा डोटी संगम स्थल सेती नदी किनार आउदै छन । सेती नदी किनारको गहनान धाममा हुने महायज्ञको उद्घाटनका लागि उनी यहाँ आउन लागेका हुन । उनले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ ।
डोटीमा धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डोटी र डडेल्धुरा जिल्लाको संगम स्थल शिखर नगरपालिका– १० बानेडुग्रीसैनमा अवस्थित “गहनान धाम”मा महायज्ञको आयोजना गरिएको हछ ।
गहनान क्षेत्र विकास समितिले आज चैत्र १७ गते देखि २५ गतेसम्म “श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१” आयोजना गर्ने जनाएको छ । पवित्र धार्मिक स्थलकारुपमा रहेको गहनान धामको विकास, प्रचारप्रसार, आध्यात्मिक केन्द्र र धार्मीक पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने उद्येश्यसहित महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक ललित बलायरले बताए ।
गहनान धाम हिन्दू धर्माबलम्बीहरुका लागि एक पवित्र, ऐतिहासिक र धार्मीक पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको संयोजक बलायरले बताए । गहनान धाम प्राचीनकादेखि नै आध्यात्मिक महत्वको क्षेत्र हो,“उनले भने,“यो धामको आफ्नै ऐतिहासिक, धार्मिक महत्व र प्रचुर पर्यटकीय सम्भावना रहेको छ । गहनान र सीता (सेती) नदीका बारेमा स्कन्द पुराणको मानस खण्डमा पवित्र धार्मीक स्थल भनेर वर्णन गरिएको छ । गङ्गामा स्नान गर्नका लागि यो एक उपयुक्त र पवित्र स्थल हो ।”
“अठार पुराणहरू मध्यको सबैभन्दा ठूलो मुख्यपुराण “स्कन्द पुराण”मा साकल्य ऋषिले सीता र साकल्य नदीको सङ्गममा गायत्री मन्त्रद्वारा सिद्धि प्राप्त गरेको उल्लेख छ,“गहनान धाम क्षेत्र विकास समितिका अध्यक्ष दुर्गाप्रसाद रोस्याराले भने,“स्कन्द पुराणका अनुसार साकल्य ऋषिको लामो र कठिन तपस्याबाट प्रसन्न भई भगवान विष्णुले सो तपस्या भूमिलाई पवित्र धार्मिक स्थल होस भनी आशिष् दिनु भएको थियो । यस धामको प्रचारप्रसार र ऐतिहासिक खोजी हुन सकेको छैन । यसलाई व्यवस्थित गर्दै लगियो भने यहाँ धार्मीक पर्यटन फस्टाउँछ ।”
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्कीले गहनानलाई धार्मीक पर्यटनसँग जोड्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउदै महायज्ञले यहाँको गरिमालाई उचाई थप्ने विश्वास व्यक्त गरेका छन ।
सेती नदी हिमालको काखबाट प्रकट भई गहनान हुँदै दिल्पेश्वरबाट उत्तरवाहिनी बग्ने नदी हो । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् । उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ ।
गहनानमा मकर सङ्क्रान्ति, पुस मसान्तमा ठुलो मेला लाग्ने गर्दछ । जहाँ सुदूरपश्चिम र छिमेकी देश भारतबाट पनि तीर्थयात्रीहरू गङ्गा–स्नान गर्न आउने गर्दछन् । मकर सङ्क्रान्ति तथा अन्य शुभ साइतमा बिबाह र व्रतबन्ध गर्न पनी आउने चलन रहेको छ । गहनानमा स्नान गरेपछि जुगौं देखिको पाप नष्ट भएर जाने र यहाँ अस्तु विसर्जन गर्नाले मृत आत्मोको स्वर्गारोहण हुनेर्, पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । यहाँ मकर सक्रान्ति, औँसी र नवरात्रिमा तीर्थालु भक्तजनहरुले मंगलगान, फाग, भागेश्वर, गन्याप, मस्ट देवता को फाग गाउँने गर्नुहुन्छ । फाग गाउँदा देवता प्रसन्न हुने विश्वास छ ।












