डडेल्धुरा । प्रत्येक वर्ष वैशाख २ गतेका दिन हुने घटालको विशु जाँतका दिन अमरगढी नगरपालिकाले वैशाख २ गते सार्वजनिक बिदा दिने भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ३ मा अवस्थित घटाल थानमा लाग्ने विशु जाँत (मेला) को दिन नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।
मेलाको अवसरमा नगरपालिका तथा मातहतका सबै निकायहरू बन्द रहने अमरगढीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । नयाँ वर्षको दोस्रो दिन घटाल थानमा विशु जाँत धार्मिक आस्थाकासाथ धुमधामसंग मनाइने गरिन्छ ।
डोटीखोला आसपासका गाउँबस्तीसंगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट भक्तजनहरु विशु जाँतका दिन घटालथान पुग्ने गरेका छन । घटाल बाबाको पूजाआजासंगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर आस्थावान भक्तजनहरु घर फर्कने गर्छन् । घटाल जाँतका दिन देवतको शक्ति प्रदर्शनका रुपमा धामीले खोलमै गएर बालुवा खाने भएकाले पनि यस मेलाको महत्व ठूलो छ ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।
पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान र्पुयाइने घटाल क्षेत्र विकास समाजले जनाएको छ । विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका स्थानीय बताउँछन् ।
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ । सदियौदेखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका छन् ।












