डडेल्धुरा । परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू लाई निःशुल्क अध्यापन गर्ने भएको छ । परशुराम नगरपालिकाका नगर प्रमख नगर प्रमुख भरत जोशीले नगरपालिका भित्रमा कक्षा ११ मा अध्ययनरत सबै विद्यार्थीहरू लाई निःशुल्क अध्यापन गरिने बताएका छन ।
परशुराम नगरपालिकाले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको सबै शुल्क तिर्न रकम विनियोजन गर्ने निर्णय गरेको उनले बताए । नयाँ शैक्षिक शत्रदेखि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको सबै शुल्क नगरपालिकाले व्यहोर्ने उनको भनाई छ । जोशीले आगामी आर्थिक वर्षदेखि कक्षा १२ को पढाई पनि निःशुल्क बनाउने तयारी भइरहेको जानकारी गराए ।
नगरपालिकाको यस निर्णयले विद्यार्थी एवं अभिभावकहरूलाई आर्थिक राहत मिल्ने विश्वास स्थानीयको छ । कक्षा १२ सम्म पढाई निःशुल्क भनिए पनि व्यवहारमा लागु हुन सकेको थिएन । नीजि शिक्षकलाई तलब खुवाउनु पर्ने, विद्यालयको भौतिक संरचनाहरु निर्माण गर्नु पर्ने लगायत विभिन्न शिर्षकमा खर्च अपुग भएका कारण सामुदायिक विद्यालयहरुमा सामान्य शुल्क लिईने गरेको छ ।
नेपालको संविधान २०७२ ले माविसम्मको अध्ययनलाई मौलिक हकमा रुपमा उल्लेख गर्दै निःशुल्क गरेको छ । तर विद्यालयमा दरबन्दि अनुसारका शिक्षक नहुदा कक्षा ११, १२ मा मासिक शुल्क लिईने गरेको छ । संविधानमा उल्लेख गरिएको कक्षा १२ सम्म निःशुल्क शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्न स्थानीय तहबाट सुरु गरिएको नगर प्रमुख जोहीले बताए । यस्तो नीतिगत कदमले सर्वसुलभ र संविधान प्रदत्त अधिकारको अनुभूती गर्न स्थानीयलाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो भन्दा अघि पनि परशुराम नगरपालिकाले बिनाधितो शैक्षिक ऋण, छोरी बुहारी छात्रवृत्ति प्रदान गरि सकेको छ । शैक्षिक क्षेत्रमा ठुलो फड्को मार्ने स्थानीय तहका रुपमा चिनाउने प्रयास गरि रहेको मेयर जोशीले बताए ।
परशुराम नगरपालिकामा ६३ वटा सामुदायिक र १३ संस्थागत विद्यालयहरु रहेका छन भने १७ वटा माध्यमिक विद्यालय रहेका छन । जस अन्तरगत सात वटा माविमा माध्यमिकतह कक्षा ११ र १२ को पठन पाठन हुने गरेको छ । वषेनी यहाँबाट करिब साधारण र प्राबिधिक धार तर्फ चार सय बढि विद्यार्थीहरु एसईई उतिर्ण गरि कक्षा ११ भर्ना हुने गरेका तथ्यांक नगरपालिकाको छ ।













