ठेक्का भएका योजनामा छैन बजेट, आधा दर्जन सडक निर्माण ठप्प

Image

डडेल्धुरा । ठेक्का सदर भई काम सुरु भएका योजनाहरुमा बजेट नहुदा निर्माणको काम प्रभावित भएको छ । बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तरगत यहाँका ५ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।

बजेट नहुदा जिल्लाको पोखरा–बेलापुर, घटाल–चिरर्किटे–सलौन–जोबुढा, गाईबाँधे–लिप्ना, आईत–भलिया–किर्तिपुर र बुडर–जोरायल सडक निर्माण बिचमै रोकिने भएको हो । बहुवर्षीय ठेक्का मार्फत निर्माणाधीन अवस्थामा रहेका ती सडकमा अर्थ मन्त्रालयले थप बजेट नदिएपछि काम बीचमै रोकिने सम्भावना बढेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका गौरवका सडक आयोजना निर्माणको महत्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न पूर्वाधार विकास कार्यालय ठेक्का लगाएको थियो । आ.व. ०८१/८२ मा सडक कालोपत्रे गर्न ३५ करोड रुपैयाँ आवश्यक रहेको कार्यालयले जनाएको छ ।

प्रदेश गौरवका सडक अन्तरगत पोखरा–बेलापुर १८ किमि १० करोड, घटाल –चिर्किटे–सलौन–जोबुढा ४५ किमी १० करोड, गाईबाधे–लिप्ना १२ किमी ६ करोड आईत–भलिया–किर्तिपुर ७ किमी ४ करोड र बुडर–जोरायल १७ किमी ५ करोड रुपैयाँ आवश्यक परेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले जानकारी दिए ।

बजेट नहुँदा कामको भुक्तानी दिनसमेत समस्या भएको उनले बताए । ‘तीन वर्षको ठेक्का सम्झौता भएको छ । उनले भने, पहिलो चरणको भुक्तानी दियौँ, अब बजेट नै छैन कसरी काम अघि बढाउने ।

पोखरा–बेलापुर सडक अन्तरगत ठेकेदार भिम सिह ढाँटले अहिले सम्म ५ करोडभन्दा बढीको काम गरिसकेको भए पनि भुक्तानी नपाएको गुनासो गरे । ‘गरेको कामको समेत पैसा पाएको छैन, कार्यालयले रकम छैन भन्छ, अब कसरी काम गर्ने ?’ उनले भने । ढाँट मात्र नभई अन्य निर्माण कम्पनीहरुले रकम नआए काम रोकिने बताएका छन् ।

पूर्वाधार विकास कार्यालयले थप बजेट गरिदिन माग गरेपनि अर्थको ढिलाइका कारण रकम नआएको प्रमुख रावलले जानकारी दिए । ‘सबै फाईल अर्थमा पुगाएको छु, आश्वासन दिएको छ तर कार्यान्वयन कहिले गर्छ थाहा छैन,’ उनले भने । व्यवसायीलाई भुक्तानी दिने बजेट कार्यालयसँग छैन । बहु वर्षीय ठेक्का लगाएका योजनाहरूमा चालु आर्थिक वर्षमा प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेकाले यो समस्या उत्पन्न भएको हो ।

काम गरे अनुसारको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीलाई योजनाको थप काम अघि बढाउन कार्यालयले भन्न सक्ने अवस्था छैन । बजेट नभएपछि योजना प्रभावित हुने भएको छ । समयमै थप बजेट नआए निर्माण कार्य रोकिने चिन्ता भईरहेको प्रमुखको भनाई छ ।