दार्चुला । आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिए ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको खानी तथा भूगर्भ विभागमा कञ्चनपुर जिल्लाको जियो मिनिरल रिर्जब्स प्रालिले आर्थिक वर्ष २०७४/७५ मा खानी दर्ता गरेर सो ठाउँमा उत्खनन गरि खरी निकाल्न सुरु गरेको थियो ।
खानीमा दुहुँ गाउँपालिका–५, गरमोराका स्थानीय दानसिंह महरालगायत १५ जना स्थनीय महिलारपुरुषले रोजगारी पाएका छन् । उनीहरूलाई प्रालिले दैनिक ७५० रुपियाँ ज्याला उपलब्ध गराउँदै आएको छ ।
विगतका वर्षमा भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्ने गरेका महरा खरीखानी सञ्चालनमा आएदेखि गाउँमै काम गरिरहेका छन् । घरनजिकै रोजगारी पाएका उनी दैनिक ७५० रुपियाँ पाउँदा खुसी छन ।
“स्थानीय दानसिंह महरा भन्छन, गाउँघरमै रोजगारी पाएका छौँ, खुसी छौँ,” उनीसंगै काम गर्ने मजदुरले खरीखानबाट खरी निकाल्ने काम गर्ने गरेको प्रालिका सञ्चालक डा. सुरजप्रसाद भट्टले जानकारी दिए । विकट जिल्लाको विकट बस्तीमा खानी खोलेर स्थानीयलाई रोजगारी दिन पाउँदा आफूलाई समेत खुसीको अनुभूति हुने गरेको उनले बताए ।
दानसिंह महरासँगै दुहुँ गाउँपालिका–५ का अन्य १३/१४ जना खरीखानीमा काम गर्दै आएका छन् । स्थानीयले मात्रै नभएर जिल्ला बाहिरका नागरिकले पनि खानीबाट प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन । खानीबाट जिल्ला सदरमुकाम खलङ्गासम्म खरी ढुवानी गर्न १७ वटा ट्याक्टर प्रयोग भइरहेको प्रालिका सञ्चालक डा. भट्टले बताए । ट्याक्टरचालक, स्थानीय नागरिक र व्यापारीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको दाबी छ ।
खानीमा संलग्न कामदारले वर्षमा आठ महिना रोजगारी पाइरहेका छन् । वर्षायामको चार महिना असार, साउन, भदौ र असोजमा काम बन्द हुन्छ । बाँकी आठ महिना काम चल्ने गरेको छ ।
जग्गाधनीसँगको विवादका कारण बेला बेला काम बन्द हुने समस्या रहेको उनले बताउ्ए । सरकारले खनिज पदार्थ भएको जमिनलाई बिना कुनै रोकटोक काम गर्ने कम्पनीलाई उपलब्ध गराउन सक्नुपर्नेमा उनको जोड छ । दुहुँ गाउँपालिका–५, नौमुणेको ५.८७ वर्ग किलोमिटर जमिन लिजमा लिएर खरी निकाल्ने काम भइरहेको छ ।
जियो मिनिरल रिर्जब्स प्रालिले आव २०७४/७५ देखि हालसम्म तीन हजार ८३८ टन खरी भारत निर्यात गरेको दार्चुला भन्सार कार्यालयको तथ्याङ्क छ । खरी निर्यात वाफत भन्सार कार्यालयले ५७ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन गरी सरकारलाई बुझाइएको छ ।












