कश्मीर हमलामा घुम्न गएका नेपालीको मृत्यु

Image

बुटवल । भारतको जम्मु कश्मीर घुम्न गएका एक नेपालीको आतंकवादी हमलामा पनि मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १४ बेलभरिया घर भई बुटवल ११ कालिकानगरमा बस्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको भारतको जम्मुकश्मीरको आतङ्कवादी हमलामा परी मृत्यु भएको हो ।

सुदिपसहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु कश्मीर घुम्न गएका थिए ।

बुटवल उपमहानगरपालिका १४ का वडा अध्यक्ष दधिराम न्यौपानेले आतङ्कवादीको आक्रमणमा सुदिपको मृत्यु भएको बताउँदै शव आजै साँझसम्म काठमाडौं ल्याउने तयारी रहेको जानकारी दिए । उनले सुदिप आफ्नो माईलो बुवाको नाती रहेको पुष्टी गर्दै सुदिपको आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइ उज्ज्वल काफ्लेसहित काश्मीर गएको बताए ।

जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका हुन् । सुदिप घरको एक्लो छोरा र अविवाहित हुन् । सुदिप धरानमा ुपब्लिक हेल्थु विषय पढ्दै गरेको बताइएको छ । उनीसँगै रहेका आमा, बहिनी र ज्वाइँ भने सकुसल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यसैगरी बुटवल १४ बेलभरियाका स्थानीयले सुदिपको आतङ्कवादी आक्रमणमा परि मृत्यु भएको सुनेपछि भावविह्वल भएको बताए । स्थानीय जगन्नाथ पौडेलले सुदिप सानैबाट यही बसेको र पछि बसाई सरेर बुटवलको कालिकानगर गएको जानकररी दिदै घटना सुनेपछि आफूहरु शोकका परेको बताए ।

सुदिपका बुबा ध्रुव न्यौपाने रुपन्देहीको सौरहिया विद्यालयमा अध्यापन गराउ छन । आमा र बुवाबिच सम्बन्धविच्छेद भएपछि सुदिप आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका थिए ।