बजार जोगाउन आफ्नै घर भत्काईन

Image

अछाम । बर्सौंको मेहनतले बनाएको आफ्नो पक्की घर भत्काउन लगाएर गीता कठायत कुँवरले साँफे हाटबजारलाई आगलागी हुनबाट जोगाईन । वैशाख १३ गते बिहान ३ बजे अछामको साँफेबगर नगरपालिका–३, साँफे हाटबजारमा भएको आगलागीका क्रममा गीताले आफ्नो पक्की घर भत्काउन नदिएको भए पूरै बजार सखाप हुने जोखिम थियो ।

तत्काल कठोर निर्णय लिएर त्यो जोखिमलाई गीताले टारेपछि बजारवासीले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीता कठायत कुँवर सधैँ जसो आफ्नो कामबाट फर्केर राति खाना खाएर छोरीसँगै सुतेकी थिईन । राति एक्कासि ‘आगो लाग्यो’ भनेर कोलाहलसँगै साँफेबगरस्थित नेपाल बैङ्कको साइरन कानमा ठोक्कियो । नजिकै अर्को घरमा बस्ने उनकी जेठानी जनक कुँवरले उठाएर जानकारी गराउँदा उनको निद्रा एकाएक हरायो ।

बाहिर हेर्दा दनदनी आगो बलेको थियो । उनकी जेठानी गुहार मागिरहेकी थिईन । यता आगोको लप्का उनकै घरतिर आइसकेको थियो । उनी हतारिँदै बाहिर निस्किईन । जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिने अवस्थामा थिएन ।

स्थानीय ब्यापारी प्रेमबहादुर खड्काको शुभेक्षा मम सेन्टरमा विद्युत् सर्ट भएर पसलमा आगो लागेर अन्य घरमा सल्किँदै गयो । आगो निभाउन स्थानीयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि लागेको थियो । सबै लाग्दा पनि आगो नियन्त्रणमा आउन सकिरहेको थिएन ।

स्थानीय तहमा दमकल थिएन । एक घण्टासम्म आगो दन्किरहेको थियो । आगो लागेको केहीबेरमै सात वटा पसल जलेर नष्ट भइसकेका थिए । आगोले धेरै क्षति हुन नदिन एउटै उपाय देखियो– बिचमा रहेको गीताको घर भत्काउनु । आगो निभाउन कुनै सिप नलागेपछि २८ वर्षीय गीताले आफ्नो घर भत्काउन दिन तयार भईन ।

तत्कालै डोजर ल्याएर घर भत्काएपछि आगो अगाडि बढ्न सकेन । उनका श्रीमानको छ वर्षअघि मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उनकी सासूले पनि बजार जोगिन्छ भने हाम्रो घर भत्काऊँ भनेर सल्लाह दिईन ।

गीता भन्छिन, “आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउनैपर्ने सबैको भनाइ आयो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ ।” उनको तत्कालको निर्णयलाई बजारवासीले प्रशंसा गरेका छन् । जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथ्याङ्क अनुसार आगलागीबाट तीन करोड ८६ लाख ६५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

पुनर्निर्माणको पर्खाइमा हाटबजार

यतिबेला गीतालाई मात्र होइन, आगलागीमा घर जलेका १० घरपरिवारलाई नै अब कसरी घर बनाउने भन्ने चिन्ताले पिरोलेको छ । कतिपयका त ऋण काढेर पसलमा राखेका सरसामान पनि जलेर नष्ट भएका छन् ।

आगलागीपीडितको दैनिकी चलाउने मेलोमेसो नै बिग्रिएको छ । साँफे हाटबजारका आगलागीपीडितका लागि १० लाख रुपियाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ । त्यस्तै साँफेबगर नगरपालिकाले तत्काल छ लाख रुपियाँ दिने निर्णय गरेको छ ।

स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए । गीतालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने आशा छ । उनले भनिन्, “बर्खा लाग्नै लाग्यो । पाल हालेर पनि बस्न सकिने अवस्था छैन ।”

गीतालगायत आफ्नो सर्वस्व गुमाएका अन्य पसलका सञ्चालक पनि पुनर्निर्माणको पर्खाइमा छन् । साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर पुनर्निर्माण र आगलागीपीडितको व्यवस्थापनका लागि स्थानीय सरकारले तिनै तहका सरकारलगायत सरकारी र गैरसरकारी निकायसँग समन्वय गरिरहेको बताए ।