डडेल्धुरा । केही वर्षअघिसम्म निजी र आवासीय विद्यालयलाई मात्र उत्कृष्ट शिक्षाको केन्द्र मान्ने अभिभावकहरू अब सरकारी विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । यसको ताजातम उदाहरण बनेको छ डडेल्धुराको सदरमुकामस्थित महेन्द्र मावि । जहाँ अहिले विद्यार्थीको चाप दिन प्रतिदिन बढ्दै गएको छ।
बुधबारमात्रै उक्त विद्यालयमा २२३ जना नयाँ विद्यार्थीहरूले प्रवेश परीक्षा दिए । तीमध्ये अधिकांशले निजी तथा आवासीय विद्यालय त्यागेर यो सरकारी विद्यालय रोजेका हुन् । कक्षा २ देखि ९ सम्म पढ्न चाहने विद्यार्थीको भिडले विद्यालयको लोकप्रियता प्रस्ट पारिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरका अनुसार, शैक्षिक गुणस्तर, नियमित मूल्याङ्कन, अतिरिक्त क्रियाकलाप र अभिभावकसँगको घनिष्ठ सम्वादका कारण विद्यालयमा विश्वास बढेको हो । “हामीले शिक्षालाई परिणाममुखी बनाएका छौँ,” प्रधानाध्यापक ऐर भन्छन् ।
शिक्षक अशोक बमको भनाइमा, निजी विद्यालयले मात्र अंग्रेजी माध्यममा पढाउने धारणा अब भत्किएको छ । महेन्द्र माविले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म दुईवटै माध्यममा पठनपाठन सुरु गरेपछि आमाबुवाको सोचमा आमूल परिवर्तन आएको छ ।
बम भन्छन्, “अब अंग्रेजी पढाउन निजीमा पठाउनु पर्दैन भन्ने बुझेका छन् अभिभावकहरुले । कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध भएपछि उनीहरू आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पठाउन थालेका हुन् ।”
बढ्दो विद्यार्थी चापका कारण कक्षाकोठा र शिक्षक अभावको चुनौती थपिए पनि विद्यालय व्यवस्थापनले त्यसको समाधानमा अग्रसरता देखाएको छ । नयाँ फर्निचर, कक्षा विस्तार र थप जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ ।
सरकारी विद्यालयको पुनर्जागरणको संकेत दिँदै महेन्द्र माविको यो सफलताको कथा डडेल्धुरा मात्रै होइन, सम्पूर्ण सुदूरपश्चिमका सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ ।












