घटालथानमा बाढीले क्षती पुगाएका भौतिक संरचना निर्माण गरिए

Image
default

डडेल्धुरा । घटालथानमा बाढीले क्षती पुगाएका भौतिक संरचना निर्माण गरिएका छन । बजेट अभावले गुरु योजना अनुसारका भौतिक संरचना निर्माण हुन नसकेको प्रशिद्ध धार्मिक पिठ घटालथानमा १५ लाख रकम खर्च गरि पर्खाल निर्माण गरिएका हुन । अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथान क्षेत्रमा गत वर्षातको बाढीले तटबंधका पर्खालसंगै शौचालय, प्रतिक्षालय र धार्मिक न्वालोमा क्षती पुगाएको थियो ।

अमरगढी नगरपालिकाको शहरी शासन अन्तरगतको १५ लाख रकमले बाढीले बगाएको क्षेत्रमा पर्खाल लगाई पुनर्निर्माण गरिएको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले जानकरी दिए । उनका अनुसार पहिलो चरणमा करिब १० लाख रकम मात्रै विनियोजन गरि काम सुरु गरेपछि रकम अपुग भएको थियो । शहरी शासन अन्तरगत नै पाँच लाख रकम थप भएपछि बाढीले बगाएको खोला किनारको पर्खाल पुनर्निर्माण गरिएको हो ।

पर्खालसंगै प्रतिक्षालय र न्वालो वरपरको क्षेत्र पुनर्निमाण गरिएको छ । तर शौचालय भने पुनर्निर्माण गर्न सकिएको छैन । घटालथानको गुरु योजना निर्माण गरि संघियता पछि ठेक्का सम्झौता मार्फत पहिलो पटक आर्थिक वर्ष २०७५÷२०७६ मा एक करोड ४२ लाख रुपैयाँ बराबर भौतिक पूर्वाधार निर्माणको काम भएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षकको केन्द्र बिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो ।

घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थाले पछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथनमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ती वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्धार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएका थिए ।