विकासमा साझेदारी गराउन स्थानीय तहसंग छलफल गरिंदै

Image

डडेल्धुरा । विकासमा जनताको प्रत्यक्ष सहभागिता गराउने उदेश्यकासाथ जिल्ला सदरमुकाम बगरबाटामा बुधबार देखि सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका १० वटा स्थानीय तहहरुको सहभागितामा छलफल कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश स्तरीय नागरिक सहभागिता नीति तथा बजेट सम्बन्धी दुई दिने छलफल कार्यक्रम सामाजिक शुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालले सञ्चालन गरिरहेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी उपमहानगर पालिका , गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका, बझाङको मष्ठा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकाका पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरिएको सामाजिक शुरक्षा नागरिक समाज सञ्जालले जनाएको छ ।

सामाजिक शुरक्षा नागरिक समाज सञ्जालका सचिव गोपाल थापा मगरले यस अघि पनि महिला, बालबालीका तथा पछाडी परेका वर्गहरुको विकाससंग प्रत्यक्ष साझेदारी गराउन ३० जना संसदसंग काठमाडौंमा अन्तरक्रया गरिएको बताए । उनका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुसंग सोही विषयमा छलफल भईरहेको छ । पछाडी परेका वर्गहरुको प्रत्यक्ष संलग्नतामा विकास गर्नु कार्यक्रमको मूख्य उद्देश्य रहेको सञ्जालका सचिव थापा मगरले जानकारी दिए ।

भौतिक विकाससंगै शुसासनको विकास पनि हुनुपर्ने जनचाहाना अनूरुपको विकास हुनुपर्ने विषयमा केन्द्रित छलफलमा ४५ जनाको सहभागिता रहेको छ । बाजुराको बडिमालिका नगरपालिकाका प्रमुख अम्मर बहादुर खड्काले कतिपय कुराहरु जनतालाई बुझाउन नसक्दा पनि शुसासन कायम हुन नसकेको बताए ।

उनले बजेट बनाउँदा ठूलो रकम विनियोजन हुने तर विकास खर्च थोरै हुने बताए । जनतालाई त्यो कुरा बुझाउन नसक्दा पालिकाहरु आलोचित हुनुपरेको प्रतिक्रया उनले दिए । छलफल कार्यक्रमले आगामी आर्थिक वर्षको नीती योजना तथा बजेटमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमको समापन बिहीबार गरिने छ ।