विद्यालय सुधार योजना निर्माण गर्न अजयमेरुका विद्यालयलाई क्षमता विकास कार्यशाला

Image

डडेल्धुरा । विद्यालय सुधार योजना निर्माण गर्न अजयेरु गाउँपालिकाका १५ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षकलाई क्षमता विकास कार्याशाला दिईएको छ । नेपाल सरकारको शिक्षा नीति र मापदण्ड अनुसार छनौट भएका १५ विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरु लाई तीन दिने क्षमता विकास कार्याशालामा सहभागी गराईएको थियो ।

अजयमेरु गाउँपालिकाको समन्वयमा सामुदायिक विकास केन्द्र (सीडीसी) ले गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत बालमैत्री विद्यालयमा आधारित विद्यालय स्वःमुल्यांकन र विद्यालय सुधार योजना निर्माण सम्बन्धि क्षमता विकास कार्यशालाको आयोजना गरेको कार्यक्रम प्रबन्धक हर्क बहादुर ऐरले जानकारी दिए ।

उनका अनुसार तीन दिने कार्यशालामा प्रशिक्षक मनोज भण्डारीले सहजीकरण गरेका थिए । यूरोपियन युनियनको आर्थिक र युनिसेफ नेपालको सहयोग तथा साझेदारीमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशका चार वटा गाउँपालिकाका विद्यालयहरुमा संचालित छ ।

कार्यशालामा बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०८१, बालमैत्री विद्यालय स्वमूल्यांकन स्रोत पुस्तिका, विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०८० र विद्यालय सुधार योजना निर्माणमा विद्यालयस्तरीय कार्यशाला संचालनका लागि सहयोगी पुस्तिकाको विषयमा विस्तृत छलफल गरिएको थियो । सबै विद्यालयले विद्यालय सुधार योजना निर्माण गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको उनले बताए ।

अजयेमरुका अधिकांस विद्यालयहरु बालमैत्री नभएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष देवराज जोशले बताए । कार्याशलाबाट महत्वपूर्ण सिकाई भएको अनुभव सुनाउदै उनले आगामी योजनामा बालमैत्री भौतिक संरचनासंगै गुणस्तरीय शिक्षाका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने बताए ।

सामुदायिक विद्यालयहरुमा पर्याप्त भवनहरु बनेकाले अब शिक्षाको गुणस्तरमा जोड दिनु पर्ने कार्यशाला समापनका प्रमुख अतिथि एवं अजयमेरु गाउँपालिका उपाध्यक्ष बन्तिी पालले बताईन । शिक्षाको गुणस्तर माथि उकास्न शिक्षकहरुको अहम भूमिका रहने उल्लेख गर्ने उनले स्थानीय सरकार विद्यालयको साथमा रहेको बताईन ।