डडेल्धुरा । बिषेशज्ञ चिकित्सकसहित स्वास्थ्य उपचार शिविर गन्यापधुराको वडा नं. ३ सकायलमा सोमबार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा एक दिने स्वास्थ्य उपचार शिविर सम्पन्न भएको हो । गन्याधुरा गाउँपालिका सहआयोजक रहेको शिविरमा स्वास्थ्य कार्यालय डडेल्धुराको समन्वय र निशर्ग अस्पतालले सहयोग गरेको थियो । निशर्ग अस्पतालका पाँच जना बिषेशज्ञ चिकित्सकको समुहले शिवरमा बिरामीको चेकजाँचसंगै औषधी उपचार गरेको थियो ।
मेरो मुटु स्वस्थ्य म स्वस्थ्य भन्ने मूल नाराकासाथ शिविरको आयोजना गरिएको थियो । सोमबार बिहान शिविरको उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य नै पहिलो धन भएकाले सबैले स्वस्थ्यको बिषेश ख्याल गर्नु पर्ने बताईन । गाउँघरका महिलाहरु अझै पनि रोग लुकाएर बस्ने भएकाले संक्रमणको जोखिम बढ्दै गएको उनको भनाई थियो । महिलाहरुमा चुनौतीका रुपमा देखिएको पाठ्यघरको मुखको क्यान्सरका कारण कयौ महिलाहरुले ज्यान गुमाउनु परेको बताउदै उनले शिविरमा लाज नमानी चिकित्सकसंग आफ्ना स्वास्थ्य समस्या राख्न उनले आग्रह गरिन ।
गाउँघरमै शिविरको आयोजना गरिनु एक पवित्र कार्य भएको गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले बताए । बिषेशज्ञ चिकित्सक संग स्वास्थ्य चेकजाँच एवं उपचार गराउन डडेल्धुरा अस्पताल, कैलालीका विभिन्न अस्पताल वा नेपालगंज, काठमाडौंलगायत भारतका अस्पताल पुग्नु पर्ने भएकाले गाउँवस्तिमै बिषेशज्ञ चिकित्सक आउदा सबैले स्वास्थ्य चेकजाँच गर्ने अवसर पाएको उनको भनाई थियो । प्योकेजिंग, जंगफूड एवं सेकेका, तारेका मसलादार खानपिनले क्यान्सरलगायतका विभिन्न रोगहरुको संक्रमण बढ्दै गएकाले रैथाने बालीका खाद्य परिकार भोजन गर्न तर्फ ध्यान दिन आवश्यक रहेको उनले बताए । परम्परागत पोषिला खाद्यवस्तुउपभोग गर्न उनले पालिकावासीलाई आग्रह गरे ।
शिविरमा बिषेशज्ञ चिकित्सक डा.रमेशचन्द जोशी, डा.प्रभात सापकोटा, डा.विजयबिक्रम बम, डा.शुशिल चटौत र डा.श्रवणकुमार यादवले बिरामी चेकजाँच गरेका थिए । स्वास्थय शिविर मंगलबार परशुराम नगरपालिका १२ लालढुंगाा बजारमा रहेको जोगबुडा अस्पतालमा संचालन गरिने जनाईएको छ ।














