फेरि देखिन थाल्यो ‘लम्पी स्किन’

Image

काठमाडौँ । दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।

वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले सात वटै प्रदेशमा खोप पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख डोज खोप सात वटा नै प्रदेशमा पठाएको जानकारी दिए । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ ।

विभागमा कार्यरत डा. नवराज श्रेष्ठले प्रदेशको मागका आधारमा खोप उपलब्ध गराइएको प्रदेशले जिल्लामा पुर्‍याएर स्थानीय तहमा रहेका पशु स्वास्थ्यकर्मीले किसानको घर घरमा पुगेर खोप लगाउने उनले बताए ।

देशका विभिन्न स्थानमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिन थालेकाले समयमै खोप लगाएर पशुधनमा हुने जोखिम कम गर्न आवश्यक रहेको महानिर्देशक तिवारीले उल्लेख गरे । लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्‍याउन विभागले अनुरोध गरेको छ ।

“अहिले ठुलो सङ्ख्यामा सङ्क्रमण देखिएको छैन, पूर्वतयारी गर्न विभागले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ,” उनले भने ।

अघिल्लो दिनसम्म सामान्य रहेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन आवश्यक हुने पशु चिकित्सक मणिप्रसाद दाहालले बताए ।