दिपायल । डोटीमा जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका १ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जिप दुर्घटना भएको हो ।
आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १३९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट अन्दाजी २५० मिटर तल भिरमा खसेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा सायल गाउँपालिका ४ सुण्ड निवासी ४१ वर्षीया हरुदेवी विक, चालक आदर्श गाउँपालिका ७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका ६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ । विक र चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
दुर्घटनामा आदर्श गाउँपालिका ३ नुवाकोटकी १४ वर्षीया अनिता विक, सोही ठाउँकी १६ वर्षीय स्यानु विक, आदर्श गाउँपालिकाका ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, सोही ठाउँका १४ वर्षीय दीपक विष्ट घाइते भएका छन । त्यस्तै मृतक कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल पनि घाइते भएकी छन । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।













