डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ८ डकलेमा बन्ने बसपार्कको शनिबार शिलान्यास गरिएको छ । एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले शनिबार बसपार्कको शिलान्यास गरे ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीको १० करोड ३० लाख १६ हजार रुपियाँ लागतयमा व्यवस्थित बसपार्क निर्माण गरिने भएको छ । कार्यालयका इन्जिनियर दिपक ओझाका अनुसार मालिका–कालिका–युपि जेभीले निमाणको जिम्मा पाएको छ ।
उनका अनुसार उक्त निर्माण कम्पनीसंग २०८१ जेठ ३२ मा ठेक्का सम्झौता भएको थियो । १७ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरि ठेक्का सम्झौता छ । यस अघि २०६७ सालमै डकलेमा बसपार्क निर्माणको थालनी गरिएको थियो । तर काम अघि बढ्न सकेको थिएन ।
अमरगढी नगरपालिकाका नगर प्रमुख जोशीका अनुसार गत चैत महिनाको दोस्रो साता रुख कटानीको क्षतीपूर्ती वाफतको झण्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरेपछि हाल रुख कटान गर्ने काम सकिएको छ । रुख कटान गरिए पछि निर्माण कम्पनीले बसपार्क निर्माणको काम सुरु गरेको हो ।
बसपार्क निर्माण गरिने डकलेको सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्यांकन नगरेरै टेण्डर आह्वान गरिए पछि निर्माण कम्पनीसंग ठेक्का सम्झौता हुन नसकेको उनले बताए । यस कारण ठेक्का आह्वान भएपनि बसपार्क निर्माणको कामले गति लिन सकेको थिएन ।
डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वानपछि घटाघटमा भ्याटसहित साढे १३ करोडमा ठेक्का स्विकृत भएको थियो ।
बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना छ ।
डकले बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा शहरी विकास तथाभवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपैयाँखर्च गरिएको थियो । डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग छेउ बसपार्क निर्माणका लाती तत्कालिन अवस्थामा पर्खालहरु निर्माण गरिएका थिए । त्यस यताका केही वर्षहरुमा बजेट अभावकाकारण डकलेमानिर्माण शुरु थालिएको बसपार्क अलपत्र परेको थियो ।












