डडेल्धुरा । केही वर्ष अघिसम्म मासु आयात गर्ने डडेल्धुराले हाल मासुसंगै दुध निर्यात गरिरहेको छ । भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँपालिकाबाट सातामा १० हजार लिटर दुघ नेपाल दुग्ध संस्थान कैलालीले लैजाने गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख वरिष्ठ चिकित्सक देवराज भट्टले बताए ।
उनका अनुसार दैनिक तीन ट्रकसम्म खसी यहाँबाट अन्य जिल्ला पठाईन्छन । एउटा ट्रकमा ५०–६० वटासम्म खसी बाख्र्रा अटाउने गरेका छन । यद्यपी खसी निर्यातको एकिन तथ्यांक संकलन गर्न नसकिएको उनको भनाई छ । तर केही वर्ष आयात हुने खसी निर्यात हुन थालेका छन ।
चालुआर्थिक वर्षमा भेटेरीनरीको जम्मा बजेट तीन करोड ४१ लखमा ११३ वटा योजना सम्पन्न हुने चरणमा छन । यी मध्ये एक करोड रकम बराबरको भैँसी प्रबद्र्धनको कार्यक्रम रहेको उनले जानकारी दिए । २० लाख रकमका दरले जिल्लाका पाँच वटा पालिकाहरुमा भैँसी प्रबद्र्धनका लाखि भैँसी खरिद र गोठ निर्माण गरिएको उनले बताए ।
अमरगढी नगरपालिका ८ पनौली र साउनगाउँ, परशुराम नगरपालिका १२ लालढुंगा बजार क्षेत्र, आलिताल गाउँपालिका ६ शेरी गाउँ, नवदुर्गा गाउँपालिका २ ढिलेली र बकालसिन र अजयमेरु गाउँपालिका ६ न्याउली गाउँमा भैँसी प्रबद्र्धनको कार्यक्रम लागु गरिएको छ । पाँच वटै पालिकामा ६७ भैँसी खरिद गरिएको र बाँकी गोठ निर्माण सुधार गरिएको जानकारी उनले जानकारी दिए ।













