काँचो दुध र मासुले पशुबाट मानिसमा सर्दै विभिन्न रोगहरु

Image

डडेल्धुरा । काँचो दुध र मासु उपभोग गर्ने गरेका कारण पशुबाट मानव स्वास्थयमा विभिन्न रोगहको संक्रमण (जुनोटिक) फैलिने गरेको छ । खासगरी सुदूरपश्चिम प्रदेशमा काँचो दुधको दही बनाई मोही उपभोग गर्ने चलन छ भने काँचो मासु कचमलीका रुपमा उपभोग गरिन्छ । यस कारण पशुमा भएका विभिन्न रोगको संक्रमण मानिसमा फैलिने खतरा बढी रहेको कृषि तथा पशुपंछि विकास मन्त्रालय पशु सेवा विभागका प्रमुख पशु चिकित्सक डा.लेखराज दाहाले बताए ।

सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय डडेल्धुरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले काँचो दुधका परिकार र मासु उपभोग नगरे विभिन्न रोगको संक्रमणबाट मानव स्वास्थ्यलाई जोगाउन सकिने बताए । अन्तरक्रिया कार्यक्रममा यस जिल्लाका सात वटै स्थानीय तहका पशु सेवा शाखाका संयोजक, किसान र पत्रकारहरुको उपस्थिती रहेको थियो । जनस्वास्थ्य, पशु स्वास्थ्य र वातवरणिय स्वास्थ्यलाई एकिकृत रुपमा सम्बोधन गर्न नेपालले एक स्वास्थ्य रणनीति २०७६ जारी गरेको उनले बताए ।

एक स्वास्थ्य रणनीति अनुसार घर पालुवा पशुपंछिलाई अनिवार्यरुपमा भ्याक्सिन लगाउनु पर्नेमा उनले जोड दिए । सुदूरपश्चिम प्रदेशमा पशुपंछिलाई भ्याक्सिन पनि लगाईदैन । उनले भने, सरकारले मानव स्वास्थ्यको ख्याल राख्दै निःशुल्क रुपमा पशुपंछिलाई भ्याक्सिन लगाउने अभियान नै संचालन गरिहरको छ । तर सुदूरपश्चिम प्रदेशमा यो पनि न्यून छ । यस कारण एक स्वास्थ्य रणनीति कार्यान्यनमा चुनौती छ । उनले पशुपंछिलाई अनिवार्य रुपमा भ्याक्सिन लगाउन अनुरोधसमेत गरे ।

उनले घरपालुवा जानवार गाई, भैँसी, बाख्रा, वंगुरमा खोरेत रोगको संक्रमण प्रत्येक वर्ष देखिने गरेको उल्लेख गर्दै यस विरुद्धको पीपीआर खोप अनिवार्य लगाउन किसानहरु लाई आग्रह गरे । यसकासाथै लम्पी स्किन, बर्डफ्लु, स्वाईन फ्लु, वंगुरको हैजा, घोडाको ग्लाण्डर्स, कुकुर बिरालोमा रेबिजको जोखिम हुने भएकाले यी रोगहरु विरुद्ध एफएमडी, एलएसडी, सीएसएफ, एचएस, बीक्यु, रानीखेतलगायतका खोपहरु लगाउनु पर्ने उनले बताए ।

एक स्वास्थ्यको रणनीति सफल बनाउन अनिवार्य खोप अभियान चुनावी एजेण्डासमेत बन्न थालेको उनले बताए । पछिल्ला वर्षहरुमा प्रदेश र स्थानीय सरकारले खोप खरिद तथा लगाउन बजेटकोसमेत व्यवस्था गर्न थालेको उनको भनाई थियो । पशुसेवा विभागले अनिवार्य खोप अभियानका लागि वित्तिय हस्तान्तरण गरेको जानकारी उनले दिए ।

उनका अनुसार विभागले अमरगढी नगरपालिकालाई ११ लाख, अजयमेरु गाउँपालिकालाई १० लाख, भागेश्वर गाउँपालिकालाई ६ लाख, गन्यापधुरा गाउँपालिकालाई ५ लाख रकम विनियोजन गरेको छ । यस्तै परशुराम नगरपालिका, आलिताल गाउँपालिका र नवदुर्गा गाउँपालिका लागि एक÷एक लाख रकिम विनियोजन गरिएको उनले जानकारी दिए । यसले खोप अभियान तिब्र पार्नुकासाथै एक स्वास्थ्य रणनीति सफल पार्न टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला कैलालीका प्रमुख डा.नरेश जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा ७० प्रतिशत पशुपंछिमा खोप लगाईदैन । उनका अनुसार सुदूरपश्चिम प्रदेशका लागि गत वर्ष खोरेत विरुद्धको पीपीआर खोप पाँच लाख डोज आएकोमा दुई लाख डोज फिर्ता गर्नु परेको थियो । खोप नै नलगाउने परिपाटीका कारण सुदूरपश्चिम प्रदेश जुनोटिक रोगको संक्रमणको उच्च जोखिममा छ ।