डोटेली राजाको प्राचिन दरबार अजयमेरुकोटको पुनर्निमाण

Image

डडेल्धुरा । १३औं शताब्दिको इतिहास बोकेको डोटेली राजाको प्राचिन दरबार अजयमेरुकोटको पुनर्निर्माण गरिएको छ । अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा वडा नं. २ मा स्थित हाटकोटमा रहेको दरबारको पुनर्निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रकम विनियोजना गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले खण्डहरुका रुपमा रहेको अजयमेरुकोट दरबारको उत्खनन् गरेको थियो । उत्खनन्मा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम गरिएको गाउँपालिकाका प्राबिधिक रतन ऐरले जानकारी दिए ।

उनका अनुसार दरबरको जगसम्मै उत्खनन् गरि पुनर्निर्माण गरिको छ । पुरातत्वका संरचनाको पुनर्निर्माण गर्दै आईरहेका कालिगढ भक्तपुरबाट मगाईएको थियो । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाई भएका पर्खालहरु निर्माण गरिएका छन । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन् गर्दा भेटिएका संरचना अनुसार हाललाई मुख्य दरबार पुनर्निर्माण गरिउको उनले बताए ।

ढुंगाको धुलो (स्टोनडट्स) मा चुना मिसाई गाह्रो बनाई ठुल्ठुला ढुंगाले दरबार निर्माण गरिएको उनले बताए । उत्खनन्मा भेटिएका ढुंगासंगै टुटफुट भएका ढुंगाका ठाउँमा पुरानै शैलीमा नयाँ ढुंगा प्रयोग गरिएको उनले जानकारी दिए ।

उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको थियो । बिचमा गल्लि, एका तिर तीन र अर्काे तिर चार कोठा गरि भूई तलामा सात र माथि जाने ढुंगाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबार संगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरि १० वटा ढुंगे संरचना भेटिएका थिए ।

बजेट अनुसार हाललाई दरबारको भुई तला निर्माण सम्पन्न भएको छ । उनले भने, उत्खन्नका बेला भुई तला मात्रै भेटिएको थियो । तर एउटा कोठाबाट माथि चढ्ने सिंढी भेटिएको थियो । यसले दरबारमा अर्को तला पनि थियो भन्ने खुल्ने पुरातत्वविदको भनाई थियो । दुई वा त्यो भन्दा बढी कति तलाको दरबार थियो भन्ने अहिले सम्म खुल्न सकेको छैन । दरबार क्षेत्रमा छतमा प्रयोग भएका ढुंगाका सिलेट भेटिएका थिए । काठ नभेटिएकाले छानो ढुंगाको मात्रै थियो वा काठ पनि प्रयोग भएको थियो भन्ने खुल्न नसकेको उनले बताए ।

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको उत्खनन्का समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद भाष्कर ज्ञवालीले बताएका थिए । पहिलो पटक उत्खनन् गरि अध्ययन, अनुसन्धान गरिएको अजयमेरुकोट यहाँको कलाकृती र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै रहेको पाईएको उनको भनाई छ ।

उनका अनुसार अजयमेरुकोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउलाहरु बिशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ ।

उनका अनुसार अजयमेरुमा थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाईएका टावरहरु, रानी गुफा, कुवाहरु र राज दरबारसंग सम्बन्धित थुप्रै ढुंगे सरचनाहरु छन ।

यसैसंग जोडिएको हाट गाउँमा ढुंगे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन । कोट आफैमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुंगे देवलहरु, नाउला र मण्डलीहरु नीजि स्वामित्वमा रहेका छन ।

अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाईएका छन । पहिले नपढिएका केही अभिलेखहरु अहिले हामिले उतार गरेका छौ । उनले भने, यसको क्रस चेक गर्छौ । विषय विज्ञहरुसंग बसेर अध्ययन गर्छौ । यहाँ १३औँ शताब्दिका संरचनाहरु यत्रतत्र छरिएर रहेका छन ।