सातामा दुई पटक हिमपात, बालीनालीलाई राहात

Image

डडेल्धुरा । पहिलो दिउदे वर्षा भएसंगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको पहिलो हिउदे वर्षा भएको थियो । हिउदे वर्षासंगै राति हिमपातसमेत भएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारले जानकारी दिए । उनका अनुसार पछिल्लो तीन वर्ष पछि मात्रै डडेल्धुरामा हल्का हिमपात भएको हो ।

यस अघि डडेल्धुराका उच्च पहाडी भेगमा २०७९ माघ ९ गते हिउदे वर्षासंगै हिमपात भएको थियो । त्यस यताका वर्षहरुमा भने हिमपात भएको थिएन । शुक्रबार राती २६ मिलिमिटर वर्षासंगै हल्का हिमपात भएको उनले बताए । जिल्ला सदरमुकामा हिमपात भए पनि पग्लिएको थियो भने उच्च पहाडी भेग महाभारत पर्वत क्षेत्र करिब ६ ईन्चसम्म हिमपात भएको उनको भनाई छ ।

यसैगरी मंगलबार साँझदेखि फेरी सुरुभएको वर्षासंगै उच्च पहाडी क्षेत्रमा दोस्रो पटक हिमपात भएको उनले बताए । मंगलबार रातिदेखि बुधबार बिहानसम्म डडेल्धुरामा २४ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए । बुधबार बिहान केही समय वर्षा रोकिए पनि फेरी सुरु भएको छ । उनले भने, बुधबार रातिसम्म पानी पर्ने सम्भावना छ । बिहिबार देखि मौसम खुल्ने छ । बुधबार दिनभरि र रातिसम्म पानी पर्ने सम्भावना भएकाले हिमपातको सम्भावना उच्च रहेको छ ।

डडेल्धुराको आजको अधिकत तापक्रम ८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम ० डिग्री हुनसक्ने सभावना रहेको उनले बताए । हिउदे वर्षा र हिमपातले हिउदे बालीनालीका लागि पर्याप्त भएको उनको भनाई छ । १२ मिलिमिटर वर्षा हुदा एक फिट गहिराईसम्म आद्रता पुग्ने भएकाले बुधबार बिहानसम्म भएको वर्षाले दुई फिट गहिराईसम्म पुग्ने छ । यसले बालीनाली र फलफूलका बोटविरुवाका लागि पर्याप्त पानी पुगेको उनले बताए ।

असोजको तेस्रो साता पछि करिब तीन महिनासम्म हिउदे वर्षा नहुदा दिउदेबाली सुकिसकेको थियो भने हिउदे फलफूलका बोटविरुवा लगाउन ढिलाई भएको थियो । डिभिजन वन कार्यालयलगायतका कार्यालयहरुले ओखरलगायतका हिउदे फलफूलका विरुवा किसानलाई वितरण गरेसकेको थियो । तर हिउदे वर्षा नहुदा किसान निरास भएको वन अधिकृत रणेन्द्र सिंहले बताए । पर्याप्त सिंचाई नहुदा निरास भएका किसान अहिले भएको वर्षाले हर्षित भएको उनको भनाई छ ।

हिउदे वर्षा नहुदा माघ महिनामा लगाईने आलु लगायत अन्य बर्खे तरकारी खेती कसरी गर्ने भन्ने चिन्ता थियो । अमरगढी नगरपालिका ३ चम्सालका व्यवसायीक किसान सुनिता बोहराले भनिन्, शुक्रबार र अहिले भएको वर्षाले खनजोतसंगै आलु र तरकारीको बिउ राख्न सहज हुने भएको छ । कात्तिक, मंसिर, पुस महिनामा हिउदे वर्षा नहुदा निरास भएका किसानलाई माघ महिनाको अहिले भईरहेको वर्षाले राहात पुगेको उनको भनाई छ ।