डडेल्धुरा । जडिबुटी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, संरक्षणका चुनौती, वर्तमान अवस्था र सम्भावनाबारे जानकारी गराउउदै डडेल्धुरामा जडिबुटी संरक्षण तथा दिगो व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । युके इन्टरनेशनल र्ड्वीन इनीटेटीभ को आर्थिक सहयोगमा तथा TRAFFIC, ANSAB नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपाल को सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरूको संरक्षण र दिगो व्यापार” परियोजना अन्तर्गत संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापार, हिमाली जडिबुटीहरूको स्रोत सर्वेक्षण तथा दिगो व्यापार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम डडेल्धुराको अमरागढीमा सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य जडिबुटी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, संरक्षणका चुनौती, वर्तमान अवस्था र सम्भावनाबारे जानकारी गराउनु, हिमाली जडिबुटीहरूको संकलन तथा बिक्री वितरणको अवस्था विश्लेषण गर्नु तथा CITES अन्तर्गत पर्ने जडिबुटीहरू, Non-Detriment Findings (NDFs) र अन्य आवश्यक प्रक्रियाबारे छलफल थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव दीर्घनारायण कोइराला तथा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक श्री हेमराज बिष्ट रहेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालय दार्चुला, बझाङ, बाजुरा र डडेल्धुराका डिभिजनल वन अधिकृत तथा रेन्जरहरूका साथै अपिनाम्पा संरक्षण क्षेत्रका रेन्जरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एन्साब नेपालका वरिष्ठ वैज्ञानिक तथा जडिबुटी विशेषज्ञ डा. दिपेश प्याकुरेलले प्रमुख औषधीय वनस्पति, CITES, NDFs तथा अन्य प्राविधिक पक्षबारे विस्तृत जानकारी गराएका थिए भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र (FRTC) का निर्देशक राजकुमार गिरिले जडिबुटीहरूको वन स्रोत सर्वेक्षणका नयाँ कार्यविधि (Methodology) बारे प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले जडिबुटी संरक्षणका लागि सरोकारवाला निकायसँग पर्याप्त स्रोत साधन र दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरे । एन्साब नेपालले सुदूरपश्चिम लगायत हिमाली जिल्लामा गर्दै आएको स्रोत सर्वेक्षण, संरक्षण र दिगो व्यापारसम्बन्धी काम उल्लेखनीय रहेको उनले बताए । साथै स्थानीय प्राविधिक सशक्तीकरण र संरक्षण साझेदारसँग मिलेर खेती प्रविधि विकास गर्न सके दिगोपन कायम गर्न सकिने धारणा उनले व्यक्त गरे ।
डिभिजन वन कार्यालय दार्चुलाका डिभिजनल वन अधिकृत परमानन्द कुवर र डिभिजन वन कार्यालय बझाङका डिभिजनल वन अधिकृत शम्भु तिवारीले आफ्ना जिल्लामा जडिबुटीसम्बन्धी समस्या, अवस्था र सम्भावनाबारे धारणा राखेका थिए । अपिनाम्पा संरक्षण क्षेत्रका वरिष्ठ रेन्जर अनिलकुमार रामले हिमाली जिल्लामा वन्यजन्तु संरक्षणसँगै जडिबुटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्ने बताए ।
कार्यक्रमको समापनमा सुदूरपश्चिम प्रदेशका प्रदेश सचिव दीर्घनारायण कोइरालाले दिगो वन व्यवस्थापनका प्रमुख चुनौतीका रूपमा अतिक्रमण, वन डढेलो र अति चरनलाई उल्लेख गर्दै यिनको प्रभावकारी व्यवस्थापन आवश्यक रहेकोमा जोड दिएका थिए । स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य गर्दै अध्ययनमा आधारित र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए ।
यसरि आ-आफ्नो तह-तप्काबाट सम्पूर्ण निकाय तथा सहयोगी संस्थाहरु एकिबद्ध भएर लागे सुदूरपश्चिम प्रदेशमा जडिबुटीहरुको संरक्षण, सम्बर्धन गरि स्थानीय जीविकोपार्जनमा उल्लेखनीय योगदान पुग्ने उनको भनाई थियो ।















