गन्यापधुराको जनता प्राविले मनायो ३६औं वार्षिकोत्सव

Image

डडेल्धुरा । डोटी डडेल्धुराको सिमाना कोरालखोला किनारमा रहेको जनता प्राविले आफ्नो ३६औं वार्षिकोत्सव मनाएको छ । वडा नं. ५ मा अवस्थित जनता प्रावि शैक्षिक गतिबिधिसंगै पालिकाका अन्य विद्यालयहरु भन्दा अतिरिक्त क्रियाकलापहरुमा अगाडी रहेको छ । शुक्रबार औपचारिक कार्याक्रमको आयोजना गरि प्राविले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गन्यापधुरा गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले अतिरिक्त क्रियाकलापमा जनता प्रावि आगडी भएकाले बालबालिका टिकाई रहेको बताए । दिनानुदिन सामुदायीक विद्यालयहरुको शैक्षिक स्तर खस्कदै जानु र बोडिंग स्कुल तर्फ आकर्ष बढ्दै गएको अहिलेको समयमा जनता प्राविले गर्ने अतिरिक्त क्रियाकलापका कारण बालबालिका टिकाई रहेको उनले बताए । जनता प्राविकले स्थानीय साधन श्रोतको भरपुर उपयोग गरि अतिरिक्त क्रियाकलापमा जोड दिएको उनको भनाई थियो ।

पालिका मुकामबाट भौगौलिक रुपमा कोरालखोला टाढा भए पनि विद्यालयको सर्वांगिण विकासका लागि पालिकाले हेर्ने दृष्टि नजिक भएको उनले बताए । अध्यक्ष कार्कीले विद्यालयले संचालन गरेका राम्रा अभ्यासको सबैले उच्च मूल्यांकन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष शेरबहादुर भण्डारीले बढ्दो बसाईसराईका कारण सामुदायीक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको उल्लेख गर्दै बसाईसराई संगै अध्ययन गर्न बाहिर जानेहरु लाई रोक्न उत्पादन, व्यवसायीकरण र व्यवसायीक शिक्षा नीतिमा जोड दिनु पर्ने बताए । पहिले गाउँ गाउँमा विद्यालय नै थिएनन्, उनले भने, निकै दुःख गरि टाढा गएर पढ्नु पर्ने बाध्यता थियो । तर अहिले गाउँवस्ति मै भव्य, सुबिधा सम्पन्न भौतिक पूर्वाधारका संरचनासहित विद्यालयहरु बनेका छन तर विद्यार्थी छैन्न । यो चुनौतीसंग जुध्न व्यवसायीक शिक्षा नीति लागु गर्नु पर्ने उनको भनाईथियो ।

विद्यालयका प्रधानाध्यापक दिपक रावलले विद्यालयको शैक्षिक स्तर माथि उकास्न र बालबालिकालाई विद्यालयमा टिकाई राख्न समुदायका अभिभावकहरुको हौसला र सहयोग आवश्यक पर्ने औल्याए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा, वडा अध्यक्षहरु चक्र देउवा, मनोज देउवा, नरेश भट्ट, चन्द्र प्रसाद रोस्यारासंगै शिक्षा शाखा अधिकृत तस्विर घटाललगातय अभिभावक र विद्यार्थीहरुको सहभागिता थियो ।