डडेल्धुरा । एक समय कहिल्यै नसुक्ने पानीको स्रोतका रूपमा परिचित डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चिपुरस्थित हाटपाटी नामको ऐतिहासिक दुई तले ढुंगे नाउलो आज पानीविहीन बनेको छ। पानीका मुहान सुक्दै जानु, संरक्षणमा कमी हुनु र आधुनिक खानेपानी प्रणालीको विस्तारसँगै प्रयोग घट्दै जाँदा पुर्खाले निर्माण गरेका यस्ता ऐतिहासिक नाउला अस्तित्व संकटमा परेका छन्।
स्थानीय बासिन्दा र जनप्रतिनिधिका अनुसार हाटपाटी नाउलो केवल पानीको स्रोत मात्र नभई धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सम्पदा हो। तर अहिले मुख्य नाउलाको पानी पूर्ण रूपमा सुकेको छ भने संरचना पनि क्रमशः जीर्ण बन्दै गएको छ।
अजयमेरु गाउँपालिका–४ का वडा अध्यक्ष टिकाबहादुर बिष्टका अनुसार स्थानीय किंवदन्तीमा ‘हटै भाट’ नाम गरेका व्यक्तिले यो नाउलो निर्माण गरेका कारण यसको नाम हाटपाटी रहन गएको बताइन्छ। नाउला वरपर तत्कालीन समयमा भाट समुदायको बसोबास रहेको र उनीहरूमध्येका हटै भाटले यसको निर्माण गरेको भन्ने जनविश्वास रहेको छ।
दुई तले संरचनामा तल पानीको नाउला र माथि एउटा कोठा निर्माण गरिएको थियो। स्थानीयका अनुसार विगतमा यहाँ स्नान गरी जप, ध्यान र धार्मिक साधना गर्ने चलन थियो। “एक दशक अघिसम्म नाउलामा पर्याप्त पानी आउँथ्यो, तर अहिले पूर्ण रूपमा सुकेको छ,” बिष्टले भने, “भूकम्प वा अन्य प्राकृतिक कारणले पानीको मूलधार परिवर्तन भएको हुन सक्छ।”
कहिल्यै ननिस्किने पानीको स्रोत मानिएको यो नाउलो अहिले सुक्खा बनेको छ। “पानी नभए पनि नाउलामा कुदिएका कलात्मक आकृति, देवदेवीका मूर्ति र कलशका बुट्टाहरूले यस क्षेत्रको गौरवशाली इतिहासको कथा सुनाइरहेका छन्,” उनले भने।
उनका अनुसार नाउलाको निर्माणकाल र वास्तविक इतिहासबारे कुनै आधिकारिक अध्ययन भएको छैन। तर यसको वास्तुकला, ढुंगामा कुँदिएका कलात्मक आकृति तथा संरचनाको स्वरूप हेर्दा यो साधारण पानीको मुहानभन्दा धेरै महत्वपूर्ण पुरातात्विक सम्पदा भएको अनुमान गर्न सकिन्छ।
गाउँपालिकाले केही वर्षअघि चिपुर गाउँमुनि रहेको तीन ढोके ढुंगे नाउलाको पुनर्निर्माण गरेको थियो। तर हाटपाटी नाउलो पुरातात्विक महत्वको भएकाले पुरातत्व विभागको अनुमति बिना कुनै संरचनागत काम गर्न नमिल्ने अध्यक्ष बिष्ट बताउँछन्। “अजयमेरुभित्र रहेका ऐतिहासिक नाउलाहरूको विवरण पुरातत्व विभागमा पठाइसकेका छौँ,” उनले भने, “अनुमति प्राप्त भएपछि संरक्षण र पुनःस्थापनाका काम अघि बढाउन सकिन्छ।”
अजयमेरु गाउँपालिकाको नाम नै मध्यकालीन डोटेली राज्यको शक्तिशाली राजधानी रहेको अजयमेरुकोटबाट राखिएको हो। यही कारण पनि यस क्षेत्रका पुरातात्विक अवशेषहरू इतिहासका दृष्टिले महत्वपूर्ण मानिन्छन्।
डोटेली संस्कृति तथा इतिहासका जानकार कैलाशकुमार पाण्डेयका अनुसार चिपुरको दुई तले नाउलामा देखिने मूर्तिशैली, कलशका आकृति र कलात्मक शिल्प अजयमेरुकोट क्षेत्रमा पाइने अन्य पुरातात्विक अवशेषसँग मिल्दोजुल्दो देखिन्छ। “यसले यो नाउलो पनि त्यही कालखण्ड वा त्यससँग सम्बन्धित सांस्कृतिक प्रभावअन्तर्गत निर्माण भएको हुन सक्ने संकेत गर्छ,” उनले भने। पुरातत्वविद्हरूबाट विस्तृत अध्ययन भए अजयमेरुकोट सभ्यता, तत्कालीन कला–संस्कृति र जीवनशैलीबारे महत्वपूर्ण तथ्य बाहिर आउन सक्ने उनको विश्वास छ।
नाउलाको सबैभन्दा आकर्षक पक्ष यसको अद्भुत शिल्पकला हो। ढुंगामा कुँदिएका देवदेवीका आकृति, धार्मिक प्रतीक र कलशका बुट्टाहरूले तत्कालीन कलाकारहरूको उच्च सीप र सौन्दर्य चेतनालाई झल्काउँछन्। सुदूरपश्चिमका अधिकांश ग्रामीण क्षेत्रमा पाइने सामान्य नाउलाभन्दा यसको स्वरूप फरक र विशिष्ट देखिन्छ।
स्थानीय तहका जनप्रतिनिधिहरू जलवायु परिवर्तनलाई पनि पानीका मुहान सुक्नुको प्रमुख कारण मान्छन्। अनियमित वर्षा, बढ्दो सुक्खापन र वन विनाशका कारण पुराना पानीका स्रोतहरू संकटमा परेको अध्यक्ष बिष्ट बताउँछन्। “अजयमेरुका धेरै डाँडाहरू नाङ्गा छन्। पहिले प्रशस्त पानी भएका बस्तीहरूमा समेत अहिले खानेपानीको अभाव छ,” उनले भने।
हाल केही स्थानमा लिफ्ट खानेपानी आयोजना निर्माण भइरहे पनि अधिकांश योजना अझै पूर्ण हुन सकेका छैनन्। पानी बगिरहेका नाउलाको मर्मत तथा संरक्षण गरिए पनि पानी सुकेका ऐतिहासिक नाउलाहरू भने उपेक्षामा परेको स्थानीयको गुनासो छ।
मुख्य नाउलाको पानी सुकेको भए पनि नजिकै रहेको अर्को सानो ढुंगे नाउला तथा माथिल्लो सडक किनारमा अझै पानी देखिन्छ। यसले मूल स्रोत पूर्ण रूपमा समाप्त नभई यसको प्रवाह मार्ग परिवर्तन भएको हुन सक्ने संकेत गर्छ।
इतिहास, संस्कृति र जलस्रोत व्यवस्थापनको दृष्टिले महत्वपूर्ण मानिएको हाटपाटी दुई तले ढुंगे नाउलो अहिले संरक्षणको पर्खाइमा छ। समयमै अध्ययन, संरक्षण र पुनर्जीवनका प्रयास नभए अजयमेरुकोट सभ्यताको मौन साक्षी बनेका यस्ता सम्पदाहरू केवल स्मृतिमा सीमित हुने खतरा बढ्दै गएको छ।












