भोटेकोशी बाढीको त्रासदीः ७३४ जनाको मृत्यु, २ हजार ४९८ अझै बेपत्ता

Image

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षति झन् भयावह बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ।

सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदार, मकवानपुरतर्फ गएका व्यक्ति, विदेशी पर्यटक र नेपाली नागरिकसमेत छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार जारी राखिएको छ। हालसम्म आठ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

घाइते तथा बिरामीको उपचारका लागि सर्जिकल मेडिकल टिम प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। हेलिकोप्टरमार्फत उद्धार तथा राहत सामग्री ढुवानी भइरहेको छ।

३७ ट्रक राहत सामग्री

प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकोप्टरबाट समेत राहत सामग्री पुर्‍याउने काम भइरहेको छ।सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा १० लाख रुपियाँ नगद राहत उपलब्ध गराएको छ। १५ परिवारलाई पाँच करोड ७५ लाख रुपियाँ राहत उपलब्ध गराइएको प्राधिकरणको विवरणमा उल्लेख छ।

यसैबीच भोटेकोशीमा पुनः बाढीको बहाव बढेपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा खोज तथा उद्धारमा खटिएका टोलीलाई सतर्क रहन आग्रह गरिएको छ। सम्पर्कविहीन व्यक्तिको विवरण संकलन र फेला परेका शवको पहिचान गर्ने कामसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।