सुदूरपश्चिममा गौरा पर्वको रौनक, घरघरमा बिरुडा भिजाएर गरियो शुभारम्भ

Image

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पर्व गौरा मंगलबारदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पञ्चमीका दिन घरघरमा बिरुडा भिजाएर यस वर्षको गौरा पर्वको सुरुआत गरिएको हो।

गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। यस दिन व्रतालु महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी तामाको भाँडामा भिजाउने परम्परा छ। बिरुडालाई गौरा देवीको प्रसादका रूपमा लिइन्छ भने गौराको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ।

तामाको भाँडालाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगार्ने तथा त्यसमा पाँच प्रकारका अन्न भिजाउने चलन रहेको पण्डित लोकराज भट्टले बताए । उनका अनुसार बिरुडा पञ्चमीभन्दा अघिदेखि नै शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा छ। बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा ‘माङ्गलकी सगुन फाग’ गाउने गर्छन्।

संस्कृतिका जानकार कैलाश कुमार पाण्डेयका अनुसार बिरुडा भिजाउने क्रममा गाइने फागमा गौरा पर्वसँग जोडिएको पौराणिक तथा लोककथा प्रस्तुत गरिन्छ। फागमा महिलाले गौरा व्रत बस्ने तयारी गरेको र बिरुडाका लागि आवश्यक अन्न तथा दाल खोज्न महादेव अर्थात् ‘मयासर’लाई आग्रह गरेको प्रसङ्ग आउने उनले बताए।

भिजाइएको बिरुडा षष्ठीका दिन पखाल्ने गरिन्छ। त्यसपछि सप्तमी र अष्टमीका दिन गौरा पर्वका मुख्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।

सप्तमीमा गौराको प्रतिमा बनाइन्छ

सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको ‘साउँ’ नामको घाँसबाट गौराको प्रतिमा बनाउने र त्यसलाई गौराघरमा भित्र्याउने चलन छ।

व्रतालु सरस्वती अवस्थीका अनुसार गौरा महिलाको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। महिलाले पुरुषले यज्ञोपवीत लगाएझैँ ‘दुबधागो’ लगाउने परम्परा पनि यस पर्वको महत्वपूर्ण पक्ष हो।

गौराको पूजाआजाबाट श्रीमान् तथा परिवारका सदस्यको दीर्घायु, आरोग्य र परिवारमा सुख–समृद्धि कायम हुने धार्मिक विश्वास रहेको उनले बताए।

अष्टमीमा गौरा नचाउँदै देउडाको रौनक

गौराको मुख्य दिन अर्थात् गौराष्टमीमा पूजाआजा, मङ्गलगान तथा विभिन्न सांस्कृतिक गतिविधि गरिन्छन्। गौराको प्रतिमालाई गौराघरको आँगनमा राखेर अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीतमा गौरा नचाउने परम्परा छ।

गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा, डुस्को, धमारीलगायतका सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। गौराष्टमीदेखि विभिन्न स्थानमा देउडा खेल्ने र रातभर सांस्कृतिक कार्यक्रम गर्ने चलनसमेत रहेको छ।

शिव–गौरीको पूजासँग जोडिएको पर्व

गौरा पर्वलाई पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वती अर्थात् गौरीको पूजासँग जोडेर हेर्ने गरिन्छ। स्थानीय लोकपरम्परा र संस्कृतिअनुसार शिव–गौरीको आराधना गरिने पर्वका रूपमा गौरा मनाउने गरिएको हो।

अगस्ति ताराको उदयका आधारमा गौरा शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। दुवै गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्व दिने परम्परा छ।

गौरा पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्। पर्वसँगै सुदूरपश्चिमको मौलिक लोकसंस्कृति, देउडा र परम्परागत गीत–संगीतले गाउँदेखि बजारसम्म रौनक थपेको छ।