डडेल्धुरा । सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको मुख्य दिन अठेवाली आज मनाईएको छ। गौरापर्वको विशेष दिनका रूपमा लिइने अठेवालीमा गौरा र महेश्वरको सामूहिक पूजा गर्नुका साथै फाग, धमारी, ढुस्को र ठाडो खेलजस्ता मौलिक सांस्कृतिक गतिविधिले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ ।
गौरापर्वअन्तर्गत बिहीबार साँझ गौरादेवीलाई विधिपूर्वक गौराघरमा भित्र्याइएको थियो । स्थानीय भाषामा ‘भितरीकी गौरा’ वा ‘ठूली गौरा’ भनिने उक्त दिनपछि आज दुर्वाष्टमी अर्थात् अठेवाली मनाइँदैछ । यस दिन गौरालाई गौराघरबाट गौराखलामा लगेर सामूहिक रूपमा पूजा गर्ने परम्परा छ ।
अठेवालीका अवसरमा महिला तथा पुरुष गौराखलामा भेला भएर गौरादेवी र महेश्वरको पूजा गर्छन् । पूजापछि फाग, धमारी तथा ठाडो खेलजस्ता मौलिक सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छ । वर्षौँदेखि पुस्तान्तरण हुँदै आएको यी लोकपरम्पराले अठेवालीलाई धार्मिक अनुष्ठानसँगै सुदूरपश्चिमको सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको छ ।
संस्कृतिका जानकार पण्डित लोकराज भट्टका अनुसार अठेवाली गौरापर्वको महत्वपूर्ण दिन हो । गौरा भित्र्याउने दिनदेखि देवीलाई समर्पण गरिएको दुबधागो अठेवालीको विधि पूरा गरेपछि महिलाले धारण गर्ने परम्परा छ ।
“तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौरापर्वमा दुबधागो धारण गर्ने परम्परा छ,” उनले भने, “दुबधागो धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको छ ।”
अठेवालीमा गौरालाई गौराखलामा लगेर सामूहिक रूपमा पूजा गरेपछि महिला तथा पुरुषले फाग गाउँछन् । फागमा देवीदेवताप्रतिको आस्था मात्र नभई परिवार, समाज, प्रेम, दुःख–सुख र तत्कालीन सामाजिक जीवनका कथासमेत अभिव्यक्त हुने गर्छन् । त्यसैले गौराका फागलाई सुदूरपश्चिमको मौखिक इतिहास र सामूहिक स्मृतिको अभिलेखका रूपमा समेत लिने गरिएको छ ।
गौराको रौनक बढाउने अर्को महत्वपूर्ण पक्ष हो धमारी र ठाडो खेल । विशेषगरी अठेवालीका दिन गाउँका गौराखलामा महिला तथा पुरुषको सहभागितामा हुने सांस्कृतिक प्रस्तुतिले पर्वलाई थप जीवन्त बनाउँछ । मौखिक रूपमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यी लोकखेलमा सुदूरपश्चिमको सामाजिक इतिहास, संस्कृति र जीवनशैलीका अनेक पक्ष भेटिन्छन् ।
गौरापर्वको मौलिकता पूजा र संस्कारमा मात्र सीमित छैन । प्रकृति र स्थानीय वनस्पतिसँग पनि यसको गहिरो सम्बन्ध छ । साउ, अपामार्ग, तिललगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति तयार गर्ने तथा स्थानीय रूपमा उपलब्ध सामग्रीबाट धार्मिक विधि पूरा गर्ने परम्पराले सुदूरपश्चिमेली जीवन र प्रकृतिबीचको सम्बन्धलाई देखाउँछ ।
गौरा सुदूरपश्चिमेलीका लागि धार्मिक आस्थाको पर्व मात्र होइन, आफन्त र परिवारलाई घर फर्काउने अवसर पनि हो । रोजगारी, अध्ययन तथा विभिन्न कारणले देशका अन्य सहर र विदेशमा रहेका सुदूरपश्चिमेलीहरू सकेसम्म गौराका लागि घर फर्किन्छन् ।
गौराका बेला गाउँघरमा टाढाटाढाबाट आफन्तजन भेला हुने, नयाँ लुगा लगाउने, सामूहिक रूपमा पूजा गर्ने र फाग तथा लोकखेलमा सहभागी हुने भएकाले गाउँमा छुट्टै रौनक देखिन्छ । वर्षभरि छुट्टिएका परिवारका सदस्य भेटिने भएकाले गौरालाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।
सुदूरपश्चिममा दशैँभन्दा पनि विशेष महत्वका साथ मनाइने गौरा धार्मिक विश्वाससँगै सामाजिक सम्बन्धलाई बलियो बनाउने पर्वका रूपमा स्थापित छ । परिवार, आफन्त र समुदायलाई एउटै ठाउँमा भेला गराउने भएकाले यसले सामाजिक एकता र सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
बदलिँदो समय, उस्तै आस्था
आधुनिक जीवनशैली, बसाइँसराइ र रोजगारीका कारण सुदूरपश्चिमको परम्परागत ग्रामीण जीवनमा परिवर्तन आइरहेको छ । गाउँका कतिपय पुराना संस्कार र लोकपरम्परा कमजोर हुँदै गए पनि गौरा पर्वप्रतिको आस्था भने अझै बलियो छ ।
बरु सुदूरपश्चिमबाट बाहिर बसोबास गर्ने समुदायले समेत विभिन्न सहरमा सामूहिक रूपमा गौरा मनाउन थालेका छन् । यसले गौरा कुनै निश्चित भूगोलमा सीमित पर्व नभई सुदूरपश्चिमेली पहिचानसँगै देश–विदेशमा फैलिँदै गएको सांस्कृतिक उत्सवका रूपमा विकास भइरहेको देखाउँछ ।
आजको अठेवालीमा गौराखलामा गुञ्जिने फाग, धमारी र ठाडो खेलले केवल मनोरञ्जन प्रदान गर्दैनन्, सुदूरपश्चिमेली समाजको पुस्तौँ पुरानो स्मृति, आस्था र पहिचानलाई समेत पुनर्जीवित गर्छन् । यही कारण गौरा पर्वको मुख्य दिन अठेवालीलाई धार्मिक विधिभन्दा माथि उठेर मौलिक लोकसंस्कृतिको जीवन्त उत्सवका रूपमा लिने गरिन्छ ।













