बझाङ छैन रेबिज विरुद्धको खोपः बिरामी उपचारविहीन

Image

चैनपुर । बझाङमा रेबिजविरुद्धको खोप (एआरभी) सकिएको छ । खोप अभावका कारण कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर घर फर्किन बाध्य भएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप उपलब्ध गराउन नसक्दा जिल्लावासी स्वास्थ्य सङ्कटमा परेका हुन् ।

छविसपाथिभेरा गाउँपालिका–६ माटेसाङ्गुकी ८ वर्षीय प्रमिका सिंहलाई आइतबार घरपालुवा कुकुरले टोकेको थियो । बहुला कुकुरले टोकेको आशङ्कामा रेबिज खोप लगाउनुपर्ने भए पनि रात परिसकेका कारण तत्काल अस्पताल लैजान सकिएको थिएन । प्रमिकाका बुबा भुवन सिंहका अनुसार सोमबार बिहानै छोरीलाई जिल्ला अस्पताल पुर्‍याइए पनि खोप अभावका कारण उपचार सम्भव भएन ।

“अस्पताल प्रशासनले ‘रेबिजको खोप छैन, सकिएको धेरै भयो’ भन्दै हामीलाई फर्काइदियो,” सिंहले गुनासो गरिन । खोप अभावबारे प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टसँग भेटेर जानकारी गराउन खोज्दा सुरक्षाकर्मीहरूले भित्र जानै नदिएको उनको आरोप छ । यसअघि पत्रकार उत्तमकुमार थापाका तीन वर्षीय छोरालाई पनि कुकुरले टोकेको थियो । तर जिल्ला अस्पतालमा खोप उपलब्ध नभएकै कारण उनी छोरालाई उपचार गराउन नसकी फर्किन बाध्य भएका थिए ।

खोप आपूर्तिमा ढिलाइ, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको सफाइ
बझाङ जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीका अनुसार, जिल्लामा मात्र नभई सुदूरपश्चिमभर नै रेबिज खोपको अभाव भएको छ । “हामीले पटक–पटक खोप माग गरेका छौँ, तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पठाउन सकेको छैन,” उनले भने ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार, सङ्घीय सरकारबाट खोप आपूर्ति हुने भएकाले ढिलाइ भएको हो । “धनगढीमासमेत खोप अभाव थियो । तर अब केही दिनभित्रै खोप आइपुग्ने र जिल्लामा आपूर्ति गरिने बोगटीले जानकारी दिए ।

रेबिज एक प्राणघातक रोग हो, जसको समयमा उपचार नभए मृत्यु हुनसक्छ । कुकुर वा अन्य जनावरको टोकाइपछि २४ घण्टाभित्र भ्याक्सिन लगाउनुपर्ने भए पनि हाल खोप अभावका कारण बिरामीहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् । यस समस्याको समाधानका लागि सम्बन्धित निकायहरूले शीघ्र पहल गर्नुपर्ने जिल्लावासीको माग छ ।