पहिलो पटक गोलभेडा र काक्राको वर्णसंकर विउ उत्पादनको सुरुवात (भिडियो)

Image

डडेल्धुरा । पहिलो पटक गोलभेडा र काक्राको वर्णसंकर (हाइब्रिड) विउ उत्पादन गर्न सुरुवात गरिएको छ । तरकारी जर्मप्लाज्म सम्र्वदन तथा विउ उत्पादन केन्द्र डडेल्धुराले हाइब्रिड विउ उत्पादन गर्न सुरुवात गरेको हो । सिर्जना जातको गोलभेडा र मधु जातको काक्राको हाइब्रिड विउ उत्पादनका लागि हाईटेक टर्नेल भित्र विरुवा हुर्काउन थालेका कार्यालय प्रमुख तारीसिंह ठकुराठीले जानकारी दिए ।

उनका अनुसार हाल डेढ रोपनी क्षेत्रफलमा टमाटरका भाले र पोथी विरुवा छुट्टा छुट्टै हुर्काईदै छन । केही दिनमै डेढ रोपनी क्षेत्रफलमा नै गोलभेडाका पनि विरुवा रोपिने उनले बताए । सुदूरपश्चिम प्रदेशलाई नै हाइब्रिड विउमा आत्मनिर्भर बनाउन विउ उत्पादन गर्न थालिएको उनले बताए ।

यस वर्ष टमाटरको मात्रै करिब पाँच किलो विउ उत्पादन गर्ने लक्ष्य लिईएको छ । उनले भने, पछिल्ला वर्षहरुमा हाइब्रिड विउको माग बढ्दै गएको छ । छोटो समयमा बढी उत्पादन हुने भएकाले किसान हाइब्रिड विउ तर्फ आकर्षित भएका हुन । तर हालसम्म नेपालमा नार्कले मात्रै हाइब्रिड विउ उत्पादन गर्दै आईरहेको छ । पहिलो पटक विउ उत्पादन केन्द्रले सम्भावना राम्रो देखेर हाइब्रिड मूल विउ उत्पादनको सुरुवात गरेको उनको भनाई छ ।

विउ केन्द्रले हाल हाईब्रिड विउसंगै मिनुअर्ली जातको मूला, खुमल रातो पात रायो, सिक्मी लोकल केराउ, स्थानीय जातको धनिया, रेड कृयोल प्याजको पनि मूल विउ उत्पादन गरिरहेको छ ।

डडेल्धुरामा विउ उत्पादन केन्द्र स्थापना भएको करिब ३६ वर्ष पुगेको छ । पहिलो पटक सुदूरपश्चिम प्रदेशमा गोलभेडा र काक्राको हाइब्रिड विउ उत्पादनको सुरुवात गरिएको सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचवि यज्ञराज जोशीले बताए । शनिबार उनले सिर्जना जातको गोलभोडाको पोथी विरुवा रोपेर हाईब्रिड विउ उत्पादनको सुरुवात गरे ।

तरकारीमा ९० प्रतिशत विउ वर्णसंकर प्रयोग हुन्छ । उनले भने, अन्य बालीमा खुल्ला (ओपी) विउ प्रयोग गरिन्छ । पहिलो पटक हाईब्रिड विउको उत्पादन थालिएको र यो सफल हुने छ । गोलभेडा र काक्राको हाइब्रिड विउ उत्पादन सफल भए भेडेखुर्सानी, भिन्डिलगायतका अन्य तरकारीहरुको पनि हाइब्रिड विउ उत्पादन गरिने उनको भनाई छ ।

सुदूरपश्चिम सरकार कृषि मन्त्रालयले तरकारीसंगै धान, गहुँ, तोरी, मसुरो, उखुलगायतका बालिका विउलाई प्राथमिकतामा राखेर वार्षिक करिब सात करोड बढी रकम खर्च गर्दै आईरहेको उनले जानकारी दिए । विउ उत्पादनका लागि किसानलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदान दिईने गरेको उनले बताए । यहाँ उत्पादन गर्ने समयमा पानी कम पर्ने भएकाले विउ उत्पादनका लागि सुदूरपश्चिम प्रदेश सबैभन्दा राम्रो भएको र यहाँ उत्पादन भएको गहुँको विउ सर्लाही देखि पूर्वको झापासम्म निर्यात गरिदै आएको उनको भनाई छ ।

कैलाली र कञ्चनपुरमा रजिष्टर्ड सात वटा ठूला कम्पनी र स साना धेरै कम्पनीहरुले विउ खरिद गर्ने गरेको उनले बताऐ । वर्षमा विउको मात्रै एक करोड रकम बढी आय व्यय गर्ने केही सहकारीसमेत रहेको उनले बताए ।