डडेल्धुरा । गुडीरहेको जिपबाट ओर्लदा एक महिलाको मृत्यु भएको छ । डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट ओर्लदा खसेर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए ।
आइतबार दिउँसो मध्यान्ह साढे ४ बजेको समयमा जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन् ।
उपचारका क्रममा उनको डडेल्धुरा अस्पतालमा सवा ५ बजेको समयमा मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी बमले जानकारी दिए ।
प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको छ ।













