डडेल्धुरा । शैलेश्वर धाममा पहिलो पटक आयोजित अतिरुद्र विश्व कल्याण विराट महायज्ञमा झण्डै सव एक करोड रकम भेटी संकलन भएको छ । अमरगढी नगरपालिका वडा नं. ७, ८ र नवदुर्गा गाउँपालिका १ को संगमस्थल शैलेश्वर महादेवधाम मशानघाटमा गत चैत २० गते देखि अतिरुद्र विराट महायज्ञको आयोजना गरिएको थियो । महायज्ञमा करिब ६० लाख रकम खर्च आएको शैलेश्वर क्षेत्र विकास समिति अध्यक्ष एवं वडा नं. ७ का अध्यक्ष खडक बहादुर बोहराले जानकारी दिए ।
शनिबार शैलेश्वर धाम मन्दिर परिसरमा आयोजना गरिएको आयव्यय सार्वजनिक कार्यक्रममा ११ दिनसम्म आयोजना गरिएको अतिरुद्र विराट महायज्ञमा एक करोड १७ लाख ५२ हजार ३८९ रुपैयाँ संकलन भएको उनले बताए । महायज्ञमा ६० लाख तीन हजार ३९५ रुपैयाँ खर्च भएको छ भने ५७ लाख ४८ हजार ९९४ रुपैयाँ क्षेत्र विकास समितको खातामा बचत छ ।
महायज्ञ आर्थिक संकलन समिति संयोजक एवं वडा नं. ८ का अध्यक्ष नरबहादुर साँकीका अनुसार महायज्ञको आयोजनाका लागि यस क्षेत्रका स्थानीयहरुसंग चन्दादानका लागि आह्वान गरिएको थियो । र सबैभन्दा बढी रकम चन्दादानबाट एक करोड पाँच लाख २२ हजार रुपैयाँ संकलन भएको थियो । बाँकी रकम तुलादान, दानपेटी, आरती, शालिग्राम दर्शन, नौमुठे गाई दर्शनबाट प्राप्त भएको थियो ।
खर्च तर्फ सबैभन्दा बढी रकम ब्राह्मणहरु र भजन किर्तन मण्डलीको दान दक्षिणा तर्फ १९ लाख रुपैयाँ भएको सार्वजनिक गरिएको आयव्ययमा उल्लेख छ । पूजाआजाका लागि आवश्यक सामाग्री, भोजन, सम्मान लगायतका शिर्षकमा खर्च देखिएको छ । खर्चगरि मौजदात रकमले धाम क्षेत्रको विकासका लागि आवश्यक योजना निर्माण र भौतिक पूर्वाधारका योजना निर्माण गरिने आर्थिक संकलन समिति संयोजक साँकीले जानकारी दिए ।
महायज्ञको आयोजनाका लागि शैलेश्वर मन्दिर परिसरमा अमरगढी नगरपालिकाबाट १० लाख रुकम विनियोजन गरि यज्ञ मण्डपलगायत भौतिक पूर्वाधारहरु निर्माण गरिएका थिए । नेपालको सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने शैलेश्वर धाममा अतिरुद्र विराट महायज्ञको आयोजना गरिएको आचार्य जयप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार महायज्ञमा महारुद्रको ११ आबृति अर्थात १४ हजार ६४१ आबृति पाठ गराईएको थियो । यो पाठ १०० जना ब्राहमणद्धारा ११ दिनसम्म पुगाउन सकिन्छ । तर यस महायज्ञमा ५१ जना ब्राहमणद्धारा यो पाठको संख्या पुगाईएको थियो ।














