आइन्स्टाइन पब्लिक स्कुलमा मतदान गरि विद्यार्थी नेतृत्व चयन

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको निजि विद्यालय आइन्स्टाइन पब्लिक स्कुलले मतदान गरि विद्यार्थी नेतृत्व चयन गरेको छ । अमरगढी नगरपालिका –५ खलंगामा रहेको आइन्स्टाइन स्कुलले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय उपप्रमुख, सदन प्रमुख तथा सदन उपप्रमुख पदमा लोकतान्त्रिक निर्वाचन सम्पन्न गरेको छ ।

विद्यार्थीहरूले आफैं मतदानमार्फत आफ्ना प्रतिनिधिहरू चयन गर्ने यो प्रक्रिया उनीहरूका लागि लोकतन्त्रको व्यावहारिक अनुभव बन्न पुगेको छ । निर्वाचनबाट निर्वाचित विद्यार्थीहरूको नाम सार्वजनिक गरिएको छ भने विद्यालय प्रमुख विद्यार्थी सर्वसम्मत रूपमा चयन गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

विद्यालय संयोजक सन्तोष बोहराका अनुसार यस्ता गतिविधिहरूले नेतृत्व विकास, उत्तरदायित्वको भावना र लोकतान्त्रिक मूल्यप्रति आस्था जागृत गराउँछ ।

नेता बन्ने मात्र होइन, नेतृत्व बुझ्ने र व्यवहारमा उतार्ने क्षमता विकास गर्नु नै यस अभ्यासको उद्देश्य हो, संयोजक बोहराले भने ।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक र शिक्षामूलक अभ्यासहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।