जिर्ण सुनपोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेट परेन, छेउमा सानो पोखरी बन्ने

Image

डडेल्धुरा । तत्कालिन अवस्तामा सुदूरपश्चिमको सबैभन्दा ठूलो करिब २० लाख लिटर क्षमताको सिंचाई पोखरी फुटे पछि जिर्ण बनेको १५ वर्ष बढी भयो । पञ्चायती व्यवस्था वि.सं.२०२९ सालमा निर्मित पोखरी पूर्ण रुपमा कहिल्यै संचालनमा आएन । निर्माण र पुनर्निर्णण गरि दुई पटक संचालनमा ल्याइए पनि फुटेर जिर्ण बनेको डेढ दशक बढी भएको हो । अमरगढी नगरपालिका ७ का करिब एक दर्जन गाउँको हजारौ रोपनी जमिनमा सिंचाई गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमै नआई जिर्ण बनेको हो ।

चालुआर्थिक वर्षमा यस पोखरीलाई बहुउपयोगी बनाउने भन्दै पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसंग एक करोड रकम माग गरिएको थियो । गएको मंसिर ४ गते मंगलबारका दिन एक जना निजि कम्पनीका ईञ्जिनियर नै पोखरा पुगाई सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशी आफैले पोखरी बहुउपयोगी पुनर्निर्माण गरिने भन्दै नापजोखसमेत गरे । प्रदेश सरकारले ३० लाख रकम विनियोजन गरेको र बाँकी रकम हिउदे अधिवेशनबाट थप्ने आश्वासन मिलेको भन्दै पोखरी नापजाँच गरेका थिए । तर हाल उक्त रकमसमेत घटेर १५ लाख मात्रै आएपछि स्थानीय जिर्ण पोखरीको छेउमा अर्काे पोखरी निर्माण गर्न सम्झौता गर्ने तयारीमा छन ।

पोखरा सिंचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनीका अनुसार जलस्रोत तथा सिंचाई विकास डिभिजन कर्यालय डडेल्धुराको १५ लाख बजेटको योजनामा करिब डेढ लाख लिटर क्षमताको पोखरी निर्माणका लागि आमभेला बोलाई सम्झौताको तयारी थालिएको छ । हाल भने जिर्ण बनेको ठूलो पोखरीको छेउमा करिब ५० हजार लिटर क्षमताको पोखरीबाट यस क्षेत्रमा २० वटा धारा बनाई स्थानीयहरुले सिंचाई गर्दै आईरहेका छन । अब उक्त सानो पोखरी भन्दा दुइ गुणा ठूलो पोखरी निर्माण गरिने भएकाले आवश्यकताका आधारमा धाराहरुसमेत थप गर्ने निर्णय समितिले गरेको उनले जानकारी दिए ।

जिर्ण सुनपोखरी उद्देश्य अनुसार संचालन नआउदै रित्तो रहदा पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रकमको टेण्डर भएको पोखरीका तत्कालिन अध्यक्ष हरिलाल पार्कीले जानकारी दिए । उनका अनुसार पोखरी निर्माण भएपछि पोखरा बजार आसपासका कैनी टोल, भाटागाउँ र सिरोला गाउँको जमिनमा सिंचाई गरिदै आएको थियो ।

२०६६ साल आसोज महिनाको अबिरल बर्षापछि पोखरीमा दरार आई फुट्यो । त्यस यता जिर्ण बनेको पोखरी निर्माणका लागि गत आर्थिक वर्षमा पाँच लाख रकम बजेट परेको थियो । तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुंगो नलाग्दा रकम फिर्ता भएको थियो ।