गोदावरीबाट डेढ घण्टा हिडेर आलितालमा पढाई

Image

डडेल्धुरा । महाभारत पर्वतदेखि चुरे पर्वतसम्म फैलिएको डडेल्धुराको आलिताल गाउँपालिका कैलालीको गोदावरी नगरपालिकासंग जोडिएको छ । आलिताल गाउँपालिका र गोदावरी नगरपालिकाका दुर्गम वस्तिहरु अहिले पनि सडक संजालसंग प्रत्यक्ष रुपमा जोडिएका छैनन् । पातलो वस्ति भएका दुर्गम गाउँका विद्यार्थीहरु दैनिक तीन घण्टा बढी जंगलको बाटो हिडेर विद्यालय आउजाउ गर्न बाध्य छन ।

आलिताल गाउँपालिका वडा नं. ६ दोबाटा गाउँमा सिद्धभगवती मावि रहेको छ । यस विद्यालयमा अध्ययरत विद्यार्थी गोदावरी नगरपालिका १२ सल्लि गाउँकासमेत छन । सल्लि गाउँ विद्यालयबाट करिब पाँच किलोमिटर टाढा छ । गोदावरी १२ र परशुराम नगरपालिका ११ को सिमा क्षेत्रमा नायल ताल छ । नायल तालभन्दापनि अलि पर सल्लि गाउँ पर्छ ।

डडेल्धुरा–अत्तिरिया जोड्ने भिमदत्त राजमार्गको बुडरबाट नायल तालसम्म कच्चि सडक निर्माण गरिएको छ । बुडर–नायल सडकको दुरी करिब २० किमि पर्छ । नायलबाट गोदावरीको मालाखेती जोड्ने कच्चि सडक करिब १५ किमि र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्ला गाउँ जोड्ने कच्चि सडक करिब १० किमिको दुरीमा छन । अरु समयमा यी सडकहरु संचालनमा रहेपनि वर्षातमा ठप्प रहन्छन । दैनिक गाडी पनि चल्दैनन् ।

सल्लि गाउँमा मावि नभएका कारण दोबाटाको सिद्धभगवती मावि जानु पर्ने बाध्यता रहेको सल्लि गाउँका विद्यार्थी बिमल साउदले बताए । सल्लि गाउँबाट जंगलको बाटो हुदै विद्यालय पुग्न डेढ घण्टा र घर फर्किनपनि उत्तिकै समय लाग्छ । उनले भने, हावाहुरीको समय, चट्याङ र पानी पर्दा डरैडरले विद्यालय आउने जाने गर्नुपर्छ । किताब, कपी त भिज्ने, च्यातिने भईनै हाल्यो, ज्यानकै बाजी राखेर विद्यालय आउनुपर्ने बाध्यता छ ।

सल्लि गाउँमा आधारभूत विद्यालय र चाप गाउँमा कक्षा ८ सम्मको मात्रै विद्यालय छ । गाउँ नजिक मावि नभएका कारण दोबाटाको विद्यालय पुग्नु पर्ने बाध्यता रहेको उनले सुनाए ।

सिद्धभगवती माविमा होस्टेल भएपनि कोही नबस्ने भएकाले आफुहरु पनि घरबाटै ओहोर दोहोर गरिरहेको सल्लि गाउँका अर्का विद्यार्थी माया कुवरको भनाई छ । दैनिक तीन घण्टा बढी नै हिड्नु पर्छ । उनले भनिन्, कहिले विसन्चो हुदा विद्यालय आउन सकिदैन । तर के गर्नु पढ्नु छ भने दुःख नै गर्नु पर्ने बाध्यता छ ।

विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा होस्टेलमा पनि विद्यार्थीहरु बस्न छोडेको विद्यालयका प्रधानाध्यापक प्रयागराज जोशीले बताए । केही वर्ष पहिले होस्टेलमा विद्यार्थीलाई राख्न नसक्ने अवस्था थियो । उनले भने, २०६७ सालत तिरै विद्यालय नजिकै काठको दुई तले जस्ताको छानो भएको होस्टेल निर्माण गरिएको थियो । तर हाल रित्तो जस्तै छ । होस्टेलमा अहिले चार जना शिक्षक र चार जना विद्यार्थीहरु मात्रै बस्ने गरेको उनले बताए ।

उनका अनुसार यस वर्ष विद्यालयमा करिब २०० विद्यार्थी छन । सल्लि गाउँसंगै परशुराम नगरपालिका ११ पलगडीलगायतका गाउँबाट करिब डेढ घण्टा नै हिडेर विद्याथीहरु विद्यालय आउनु पर्ने बाध्यता छ ।