खानोपनी अभाव हुने गाउँमा एक घर एक धारा निर्माण

Image
एक घर एक धारा निर्माण गरिएको अमरगढी ३ को काडे गाउँ डडेल्धुरा

डडेल्धुरा । करिब एक सयको हाराहारीमा घरधुरी रहेका गाउँमा दुई चार धारा हुदा खानेपानीको समस्या भोग्दै आएका स्थानीयका घर घरमा धारा निर्माण गरिएका छन । एक घर एक धारा निर्माण योजना अन्तरगत चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले १५ करोड रकम खर्च गरिरहेको छ ।

खानेपानीको अभावमा काकाकुल अमरगढी नगरपालिका ८ डकले लटाउली गाउँमा हाल एक घर एक धारा संचालनमा छ । आर्थिक वर्ष २०७६/७७ यता यी गाउँमा खानेपानी पुगाउन करिब पौने दुई करोड रकम खर्च गरिएको कार्यालय प्रमुख हंसबहादुर थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा १६ लाख रुपियाँ रकम लागतमा एक घर एक धारा खानेपानी सम्पन्न हुदै छ । यहाँका ८० घरधुरीका धाराहरुमा गत वर्ष देखि नै पानी संचालन गरिएको छ ।

डडेल्धुरा लिफ्ट खानेपानी योजना उग्रतारा अन्तरगत यस योजनामा सोलरबाट साढे सात सय मिटिर उचाईमा पानी तानिएको छ । यस योजनाको लम्बाई दुई किमि रहेको छ । २०७७ मा ३६ लाख रकमबाट योजनाको सुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष श्याम साँकीले जानकारी दिए । त्यस यता यस वर्षको रकम जोड्दा पौने दुई करोड पुगेको उनले बताए । यस वर्ष चौकिदार भवन निर्माण गर्न मात्रै बाँकी रहेको र खानेपानी पूर्ण रुपमा सुचारु भएको उनले जानकारी दिए ।

पहिले वडा नं. ७ को पोखरा खानेपानी योजनाको उग्रतारा मन्दिरमा रहेका दुई धारा, मन्दिरकै नाउलो र गाउँ घरका नाउलाबाट ५० लिटरका ग्यालेन बोक्दै आधा घण्टाबढी हिडेर पानीको जोहो गर्नु पर्ने बाध्यता थियो । वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर साँकीले भने, आधा घण्टा बढी हिडेर धौ धौ पानीको जोहो गर्नु परेको थियो । धुपकालमा नाउला पनि सुक्ने भएकाले छिमेकी गाउँका नाउलाबाट पानीको जोहो गर्नुपर्ने बाध्यता थियो । गत वर्ष देखि भने घर घरमै धारा निर्माण गरि पानी संचालन गरिदा यो सबै समस्या हडेको छ ।

यस्तै अमरगढी ३ को डोटी क्षेत्र काडे गाउँमा पनि एक घर एक धारा संचालनमा ल्याईएको छ । घटाल कालाखाया खानेपानी योजना अन्तरगत काडे गाउँका ९० घरधुरीमा खानेपानी संचालन गरिएको हो । चालु अर्थिक वर्षमा २० लाख रुपियाँ लागतमा योजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष गणेश सेटीले जानकारी दिए ।

पहिले गउँमा १० धारामा मात्रै थिए । उनले भने, एक धारामा पाँच देखी १० परिवारले खाने पानी भर्नुका साथैै गाईवस्तु, सरसफाईका लागि लाईन बस्नुपर्ने बाध्यता थियो । अहिले घर घरमै धारा निर्माण भएका छन । गाउँले सबैलाई सहज भएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार चालु आवमा खानेपानीका ९३ योजना थिए । यी मध्ये केही योजनाहरु सम्पन्न भएका छन । केही सम्पन्न हुने तरखरमा छन । जम्मा योजनाहरु मध्ये ७५ वटा योजना क्रमागत र १८ योजना नयाँ रहेको उनले जानकारी दिए ।