डडेल्धुरा । देश संघियतमा गएसंगै डडेल्धुराले पूर्वाधारमा फड्को मारेको छ । डोटी जिल्लाको गैरा बजारसंग सिमाना जोडिएको डडेल्धुरामा संघियता अघि बैतडी जिल्लाको सिमाना अनारखोली बजरासम्म महाकाली राजमार्गको दुरी ५० किमि, जिल्ला सदरमुकाम स्याउले बजारदेखि डोटीको सिमाना कोरालखोला बजारसम्म २५ किमि दुरीको डा.केआईसिंह राजमार्ग र जिल्ला सदरमुकामकै बागबजार देखि डोटी घटाल, बगरकोट सडक खण्डको करिब ७ किमि गरि ८२ किमि मात्रै सडक कालोपत्रे थियो ।
यी दुई सडक सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य सडक हुन । तर अहिले जिल्ला भित्रकै पालिकाहरु जोड्ने मुख्य सडकहरु धमाधम कालोपत्रे भईरहेका छन । संघियता व्यवस्था लागु भएसंगै बनेको प्रदेश सरकारले ल्याएका योजनाबाट प्रदेश गौरवका योजना अन्तरगत पोखरा–बेलापुर–ढुंगाड सडक अहिले साढे १४ किमि विस्तार भई कालोपत्रे भईसकेको छ ।
उग्रतारा–मेलौली सडक खण्डको २० किमि कालोपत्रे भईसकेको छ भने अगाडी कालोपत्रे गर्ने काम जारी छ । यसैगरी बुडर–जोगबुडा–गाईबाधेसम्म करिब ३५ किमि सडक कालोपत्रे भएको छ । गाईबाँधे–लिप्ना सडक कालापत्रे गर्ने काम संचालनमै छ ।
यस्तै बागबजार–बगरकोट–शिराड सडकखण्डमा सात किमि सडक कालोपत्रे भईसकेको छ । अगाडी कालोपत्रे गर्ने काम पनि संचालनमै छ । सुदूरपश्चिम प्रदेशको गौरवको सडक योजना दैजी–लिप्ना–गाईबाँधे–जोगबुडा–सलोन–चिर्किट्टे–आईत–कितिपुर–पोखरा–बेलापुर–ढुंगाड–सडकखण्डको आईत–किर्तिपुर सडक कालोपत्रे गर्ने काम भईरहेको छ ।
यसै सडक खण्डको सलोन चिर्किट्टे घटाल खण्ड विस्तारको कामसमेत भईरहेको छ । डडेल्धुरामा हाल कालोपत्रे भएको सडकको लम्बाई १६४ किमि बढी पुगेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख नवराज रावलले जानकारी दिए । यी सडकहरुम यस वर्षको रकम ६० करोड ५० लाख रहेको छ ।
जिल्लाका यी सडक खण्डहरु कालोपत्रे र विस्तारका लागि २०७६ साल यता एक अर्ब ८४ करोड १३ लाख ३१ हजार रकम बढीको ठेक्का सम्झौता भईसकेको छ । यी सडकहरु मध्ये बगरकोट–सिराड–रुपाल सडक–बिरादे–बगरकोट–सिराड खण्ड र कटाल परशुरामधाम धार्मिक पर्यटकिय सडक (कटाल–बहादुरे खण्ड) बहुवर्षे ठेक्का लागेका हुन ।
उनका अनुसार चार करोड ४० लाख रकममा विभिन्न १२ वटा ग्रामिण निर्माण भईरहेका छन भने केही सडकहरु निर्माण सम्पन्न भईसकेका छन । सडक कालोपत्रे विस्तारसंगै ग्रमिण सडक निर्माण, स्तरोन्नती, मोटरेवल पुल, झोलुंगे, ट्रस्टका पुल, सिचाई पोखरी, कुलो, तटबन्ध, खानेपानी, विद्यालय भवन, घेरबार, शौचालय, खेलमैदानलगायतका भौतिक पूर्वाधारका संरचनाहरु निर्माणसमेत भएका छन ।














