गन्यापधुरामा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सम्बन्धि अन्तरक्रिया

Image

टंकराज पनेरु

डडेल्धुरा । निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गन्यापधुरामा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय डडेल्धुराको सहयोगमा शुक्रबार एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी गन्यापधुरा गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर कार्कीले शिक्षा मानवको तेस्रो आँखा भएको बताए । शिक्षाबिना जीवन अन्धाकार हुने उल्लेख गर्दे उनले अनुशासित भएर पढेका ज्ञानसिप व्यवहारमा ल्याउन महत्वपूर्ण रहेको बताए । गुणस्तरीय शिक्षा गाउँघरकै विद्यालयहरुमा दिन सके पढाईकै लागि हुने बसाईसराई कम गर्न सकिने उनको भनाई थियो । गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरु लाई उनले मेहनत गर्न आग्रह गरे ।

कार्यक्रमा सामाजिक विकास कार्यालय प्रमुख राधाकृष्ण जोशीले बच्चाहरु चार वर्ष उमेर पुगेपछि विद्यालय बाहिर नरहनु पर्ने बताए । चार वर्षदेखि १३ वर्षसम्मको उमेरमा आधारभूत शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएकाले कुनै पनि बहानामा यी उमेरका बालबालिका विद्यालय बाहिर नरहनु पर्ने उनको तर्क थियो । नेपालको संविधानमा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था भएकाले सामुदायीक विद्यालयहरुले कुनै पनि बहानामा भर्ना वा अन्य शुल्क लिन नमिल्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, शिक्षा शाखा संयोजक, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायत प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । शिक्षाको गुणस्तरका सवालमा चिन्तित भएको र व्यवस्थापनको पाटोलाई बलियो बनाई अध्यापनमा ध्यान दिनेमा सबैले चासो बढाएका थिए ।