डडेल्धुरा । भग्नावशेष अवस्थामा रहेको डोटेली राजाको प्राचिन दरबार अजयमेरुकोटको पुनःनिर्माणको काम सुरु गरिएको छ । दरबारकै नामबाट स्थापित अजयमेरु गाउँपालिकाको ७८ लाख रुपियाँ लागतमा वडा नं. २ मा रहेको दरबारको पुनःनिर्माणको काम सुरु गरिएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ९० लाख रकम विनियोजना गरेपछि गत फागुन महिनामा पुरातत्व विभागले अजयमेरुकोट खण्डहरुका रुपमा रहेको दरबारको उत्खनन् गरेको थियो । उत्खनन्मा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम गरिने गाउँपालिकाका प्राबिधिक रतन ऐरले जानकारी दिए ।
उनका अनुसार दरबरको जगसम्मै उत्खनन् गरि पुनर्निर्माण गरिन लागेको छ । यसकालागि दक्ष कालिगढ भक्तपुरबाट आएका छन । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचार्इ भएका पर्खालहरु निर्माण गरिने छन । छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन् गर्दा भेटिएका संरचना अनुसार निर्माण गरिने उनले बताए ।
उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको थियो । बिचमा गल्लि, एका तिर तीन र अर्काे तिर चार कोठा गरि भूई तलामा सात र माथि जाने ढुंगाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको थियो । मुख्य दरबार क्षेत्रमा दरबार संगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरि १० वटा ढुंगे संरचना भएको भेटिएका थिए ।
डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गरिएको उत्खनन्का समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद भाष्कर ज्ञवालीले बताएका थिए । पहिलो पटक उत्खनन् गरि अध्ययन, अनुसन्धान गरिएको अजयमेरुकोट यहाँको कलाकृती र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै रहेको पाईएको उनको भनाई थियो ।
उनका अनुसार अजयमेरुकोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । बैठक कक्ष र नाउलाहरु बिशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ । उहाँले भन्नुभएको थियो ।
अजयमेरुमा थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाईएका टावरहरु, रानी गुफा, कुवाहरु र राज दरबारसंग सम्बन्धित थुप्रै ढुंगे सरचनाहरु छन ।
यसैसंग जोडिएको हाट गाउँमा ढुंगे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन । कोट आफैमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुंगे देवलहरु, नाउला र मण्डलीहरु नीजि स्वामित्वमा रहेका छन ।
अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाईएका छन । पहिले नपढिएका केही अभिलेखहरु अहिले हामिले उतार गरेका छौ । उहाँले भन्नुभएको थियो, यसको क्रस चेक गर्छौ । विषय विज्ञहरुसंग बसेर अध्ययन गर्छौ । उनले भने, यहाँ १३औँ शताब्दिका संरचनाहरु यत्रतत्र छरिएर रहेका छन ।














