कैलाली कारागारमा व्यापारि पालीको मृत्यु पछि डडेल्धुरा बन्द

Image

डडेल्धुरा । कैलाली कारागारमा एक जना व्यापारीको मृत्यु भएपछि डडेल्धुरा बन्द गरिएको छ । बैंकिङ्ग कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पाली कारागारमा रहँदा सोमबार राती मृत्यु भएको थियो । पालीको मृत्यु पछि उद्योग वाणिज्य संघ डडेल्धुराको नेतृत्वमा नागरिक समाज लगायतसबै व्यापारिक संस्था आन्दोलित भएका छन । बुधबार बिहानै देखि जिल्ला सदरमुकाम बागबजारमा सडक बन्द गर्दै आन्दोलनकारीले सडकसमेत अवरुद्ध पारेका छन ।

उद्योग वाणिज्य संघ डडेल्धुराले विज्ञप्ति जारी गर्दै मृतक पालीको शरिरमा निलडाम र रगत छिटा देखिएकाले घटनाको सत्यतथ्य छानबिनको माग गरि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ । कुटाई पिटाईबाट पालिको मृत्यु भएको भन्दै दोषि माथि कार्वाहीको माग राख्दै आन्दोलन थालिएको उद्योग वाणिज्य संघ कार्वबाहक अध्यक्ष दिपक महताले बताए । आन्दोलनका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ ।

पालीको मृत्यु प्रकरणमा उनको परिवारले गम्भीर आरोप लगाएको छ । प्रहरीका अनुसार, उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो ।

मृतकका काका पदम सिंह पालीका अनुसार प्रहरी नायव निरीक्ष हरिजित नाथले पहिले नै बारम्बार रकम माग्दै आएका थिए । उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी बार्गेनिङ गरेर छोडेको उल्लेख गर्दै पछिल्लोपटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित यातना दिइएको आरोप लगाएका छन ।

असार २ गते मात्र हामीले हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेका थियौँ, पदम सिंहले भने, तर त्यसपछि प्रहरीको वर्दीको आडमा पालीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकोबाट रगत बगेको थियो ।

पालीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । शवमा कुटपिट गरेको निलडाम रहेको भिडियो बाहिरिएको छ । आफन्तहरूले जबसम्म सत्य खुल्दैन र दोषीलाई कारबाही हुँदैन तबसम्म शव नउठाउने अडान लिएका छन ।

प्रहरीले भने पाली बिरामी भएपछि अस्पताल लगिएको दाबी गरेको छ । तर, सिसिटिभी फुटेज माग्दा अहिलेसम्म उपलब्ध नगराएको आफन्तहरूको भनाइ छ । यसबाट प्रहरीकै संलग्नतामा हत्या भएको शंका थप बलियो भएको मृतक पालीका आफन्तको दाबी छ । पालीका परिवारजन कानुनी प्रक्रियामा जाने तयारीमा छन । मृतकका श्रीमती र एक छोरा रहेका छन ।