चुरेको आलितालमा फस्टायो ड्रागन फ्रुटखेती, अढाई वर्षमै आम्दानी गर्न सफल किसान (भिडियो)

Image

डडेल्धुरा । मध्य पहाडी जिल्ला डडेल्धुराको भित्रिमधेश क्षेत्र चुरेमा ड्रागन फ्रुट फलेपछि किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । आलिताल गाउँपालिका ४ घरेलुमा स्थानीय कर्ण बोहराले व्यवसायीक रुपमै ड्रागन फ्रुटको खेती गरेका छन । उनले करिब अढाई वर्ष पहिले २०० वटा ड्रागन फ्रुटका विरुवा रोपेका थिए । हिउदको शितले १२–१५ विरुवा मरे पनि १८५ जती विरुवाले फल दिन सुरु गरेको उनले बताए ।

गत वर्ष देखि नै फल लाग्न सुरु भएको बताउदै उनले यस वर्ष करिब २० कुन्टल फल्ने अनुमान लगाएका छन । गत वर्ष दुई कुन्टल फलेको थियो । उनले भने, एक कुन्टल बाड्नमै सकियो भने एक कुन्टल बिक्रि गरे । यस वर्ष त प्रशस्त फलेको छ । यस वर्ष एउटा बोटमा १२ किलो मात्रै फले २० कुन्टल फल्ने आशा छ । एउटा बोटमा एक वर्षमा २० किलोजती फल्ने व्यवसायीक किसानहरुको भनाई छ । जेठ महिना देखि फल्न सुरु गरेको ड्रागन फ्रुट काक्तिक महिनासम्म फल्ने उनले जानकारी दिए ।

पाँचौ लटको फल लागिसकेको र एउटा विरुवामा १८औँ लटसम्म फल लाग्ने उनले बताए । एउटा दाना ५००–६०० ग्रामसम्म तौल भएको फलेको उनको भनाई छ । गत वर्ष प्रतिकेजी ४०० रुपियाँका दरले बिक्रि गरेको बताउदै उनले प्रतिकेजी १०० रुपियाँ पाएपनि किसानलाई घाटा नहुने जनाए । उनले सी भेराईटीको ड्रागन फ्रुट रोपेको जानकारी दिए ।

डोटीको बुडर बजारदेखि जोगबुडा जोड्ने सडक छेउमै उनले ड्रागन फ्रुटको खेती गरेका छन । कलश कृषि पशुपंक्षि तथा नर्सरी फर्म दर्ता गरी उनले घरेलु बजार नजिकै रंगुन खोला किनारको जमिनमा १८५ बढी ड्रागन फ्रुटका विरुवा हुर्काएका छन । खोलापारी रहेको जमिनमा ५०० विरुवा रोपि सकेको र ३०० विरुवा फेरी रोप्ने तयारीमा रहेको उनले बताए । ड्रागन फ्रुटको खेतीबाट सन्तुष्ट भएको उनको भनाई छ ।

एक हजार विरुवा हुर्काउन सके कोरिया, जापानलगायतका देशमा पाईने तलब थाप्न मिल्न उनले बताए । ड्रागन फ्रुटले राम्रै मूल्य पाउने गरेको छ । उनले भने, गरिबका लागि ड्रागन फ्रुट खेती आम्दानीको स्रोत बनेको छ । सिंचाई पनि पर्याप्त नचाहिने भएकाले ड्रागन फ्रुटको खेती गर्न निकै सहज भएको उनको भनाई छ ।