डडेल्धुरा । शैक्षिक क्षेत्रमा सुशासन पारदर्शिताका लागि यहाँका पालिकाहरुले डिजिटल प्रबिधिलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरिरहेका छन । ग्रामिण दुर्गम क्षेत्र भएकाले पालिकासम्म दिनहु विद्यालयका प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितका अध्यक्ष, पदाधीकारी एवं शिक्षकहरु धाउने अवस्थाको अन्त्य गर्न डिजिटल प्रबिधिको प्रयोग गरिदै आएको छ ।
शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकले विद्यालय र विद्यार्थीलाई बढी समय उपलब्ध गराउन इमेल, भिडयो कल र फोनबाट बढीभन्दा बढी सुचना आदन प्रदान हुने गरेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृतले जानकारी दिए । विद्यालयको प्रतिनिधित्वका लागि पालिकामा शिक्षकको भौतिक उपस्थिती हुनै पर्ने बेला मात्रै उपस्थित गराउने रणनीति अपनाईएको भागेश्वर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत गणेश बहादुर पौडेलले बताए ।
उनँका अनुसार भागेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रमा योजना र विद्यालयहरुको लेखापरिक्षण, सामाजिक परिक्षण मापदण्ड अनुसार नै गरिरहेको छ । विद्यालयका प्रधानाध्यापकहरु संग करार सम्झौता गर्दै आईरहेका छौ । शिक्षा अधिकृत पौडेलले भने, विद्यालयमा ल बुक पनि बनाउने गरिएको छ । प्रधानाध्यापकले शिक्षकहरुसंग पनि करार सम्झौता गर्दै आईरहेका छन । यसले सुशासन पारदर्शितसंगै शैक्षिक गुणस्तरका क्षेत्रमा धेरै नै टेवा पुगाएको छ ।
विद्यालयहरुमा सुचना अधिकारीहरु तोकिएको उनले बताए । विद्यालय प्रति हुने कुनै पनि गुनासा, आवश्यक सुचना वा सल्लाह सुझावका लागि सुचना अधिकारीको व्यवस्था गरिएको उनले जानकारी दिए ।
शाखाले सेवा प्रवाह गर्न डिजिटल प्रबिधि ईमेल ईन्टरनेट मार्फत सेवाको उपयोग गर्ने गरेको छ । विद्यालयबाट हुने माग वा सुचनाहरुको ईमेल मार्फत जवाफ पठाउने गरेको छ । सबैभन्दा सहज मोवाईल नंं. बाटै धेरै कुराहरु, सरसल्लाह र कामहरु हुने गरेको उनले बताए । कार्यालयसम्मै पुग्नु पर्ने काम बाहेक अरुसबै काम फोन र ईमेल मार्फत हुने गरेको उनको भनाई छ ।
कक्षा ८ को ग्रेससीट अनलाईन मार्फत प्रकाशित गरिदै आएको उनले बताए । गत वर्ष एसइइमा कमजोर नतिजा आउदा गरिरहेका क्रियाकलाप पर्याप्त नभएको उनको भनाई छ । जम्मा विद्यालय ३२ वटा मध्ये ८ वटा मावि रहेको भागेश्वर गाउँपालिकाका दुई वटा विद्यालयको एसइइमा नजिता शुन्य आएको थियो । कुनै विद्यालयको नजिता शुन्य आएपनि शिवशंकर माविबाट ८ जनामा ५ जना पास भएको उनले जानकारी दिए ।
गणित र विज्ञान बिषयमा विद्यार्थीको नजिता कमजोर आएको उनले बताए । यी विषयमा कक्षा ८–१० विद्यार्थीहरुका लागि निःशुल्क अतिरिक्त कक्षाहरु पनि संचालन गरिएको उनले बताए । विद्यालयहरुमा आईसीटीको पर्याप्त व्यवस्था नहुदा पनि नतिजा कमजोर देखिएको उनको भनाई छ ।
भागेश्वर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई गत आर्थिक वर्ष २०८१/०८२ मा ३६ लाख रकम विनियोजन गरिएको थियो । विनियोजित बजेटमा प्रधानाध्यापकहरुको बैठक, परिक्षा संचालन, विभिन्न तालिमहरु, शिक्षकका लागि नमुना विद्यालयहरुको अवलोकन भ्रमण, कक्षा ८–१० का विद्यार्थीहरु लाई लक्षित गरि निःशुल्क अतिरिक्त कक्षाहरु संचालन गरिएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८२/०८२ का लागि यस शाखाको कुल बजेट ३७ लाख रकम रहेको छ । यस वर्ष मागमा आधारित तालिम कार्यक्रमहरु लाई प्राथमिकतामा राखिएको उनले बताए । हालसम्म कक्षा ८ को परिक्षालाई मात्रै ध्यानमा राखिएको जानकारी दिदै उनले यस वर्ष देखि कक्षा ५ को परिक्षालाई बोर्ड परिक्षाका रुपमा संचलन गर्ने योजना बनाएको सुनाए ।
प्रश्नपत्रहरुमा कक्षा ४–८ सम्म एकरुपता दिने योजना पनि रहेको उनले बताए । विगत देखि पूर्व प्राथमिक शिक्षालाई महत्व दिई काठमाडौंलगायतका देश विभिन्न क्षेत्रहरुबाट विज्ञहरु बोलाई सहजकर्ताहरु लाई तालिम दिने गरेको उल्लेख गर्दै उनले यस वर्ष पनि निरन्तरता दिईने बताए ।
डडेल्धुरा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सात वटा विद्यालयको नतिजामा शून्य आएको थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार एसइइको नतिजामा जिल्लाका दुई नमूनासहित ७ वटा विद्यालय नील भएका थिए । भागेश्वर गाउँपालिकाका ८ वटा माविहरु बाट गत वर्षको एसइइ परिक्षामा १०९ जना सहभागी हुदा जम्मा ३० मात्रै उत्तिर्ण भएका थिए ।
शून्य नतिजा आउनेमा भागेश्वर गाउँपालिकाका तीन वटा विद्यालय रहेका थिए । शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार भागेश्वर गाउँपालिकाको सरस्वती नमूना मावि बोगटा, कैलपाल मावि पत्रम र कैलपाल मावि पन्युट नील भएका थिए ।
शैक्षिक बहससंगै अतिरिक्त कक्षामा जोड दिइरहेको नवदुर्गा
नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर माथि उकास्न कक्षा ८–१० का विद्यार्थीहरुलाई तीन महिनासम्म निःशुल्क अतिरिक्त कक्षा संचालन गर्दै आईरहेको छ । नतिजा शुन्य आउने विषयहरु गणित, विज्ञान र अंग्रेजीका अतिरिक्त कक्षाहरु संचालन गर्दै आईरहेको शिक्षा अधिकृत रवि कुमार चौधरीले जानकारी दिए ।
शिक्षाको गरणस्तर सुधारका लागि गत वर्ष देखी जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधीकारी, अभिभावक, विद्यार्थीहरुको भेला गराई शैक्षिक बसह, छलफलहरु संचालन गर्दै आएको उनले बताए । कमिकम्जोरी पहिल्याई र अभिभावकहरु लाई जिम्मेवार बनाउन शैक्षिक बहसको थालनी गरिएको उनले बताए ।
यसले पालिकाले शैक्षिक क्षेत्रमा गरिरहेका सबै जानकारी सबैका अगाडी जानकारी गराईने भएकाले सुशासन, पारदर्शीता र सेवा प्रवाह बारे सबैलाई छर्लंगै हुने उनको भनाई छ । यस्तै बालविकास केन्द्रलाई लक्षित गरि वाल पेन्टि·हरु गरेको उनले बताए । नवदुर्गा गाउँपालिकामा रहेका २८ वटा विद्यालयहरु मध्ये हालसम्म १२ वटा विद्यालयमा अध्यापन तरिकाका चित्रसहित भित्ते लेखन गरिएको छ । यसले बच्चाहरु आकर्षित भएको उनको भनाई छ ।
उनका अनुसार विद्यालयहरुमा निरन्तर रुपमा लेखापरिक्षण, सामाजिक परिक्षण हुदै आएको छ । तर विद्यालयहरुमा सुचना अधिकारी भने हालसम्म नतोकिएको उनले जानकारी दिए । शैक्षिक गुणस्तर बढाउन नयाँ नयाँ तरिकाहरु अपनाउदै गएका छौ । उनले भने, घेरबार, खानेपानी, भित्ते चित्र र लेखनले सामुदायिक विद्यालयहरु बोर्डि· स्कुल जस्तै देखिदा बच्चाहरुको आकर्षण बढेको पाएका छौ ।
नवदुर्गा गाउँपालिकाका शिक्षा शाखामा गत आर्थिक वर्ष शिक्षकको तलबसहित २ करोड ३० लाख रकम थियो । चालु आर्थिक वर्षमा तलब बाहेक करिब एक करोड रकम प्राप्त भएको उनले बताए । विद्यालयको माग अनुसार आवश्यक तालिक, गोष्ठिहरु संचालन गर्दै आईरहेको उनले बताए । ईमेल र फोन मार्फत विद्यालयलाई दिनु पर्ने जानकारीहरु गराउदै आएको उनको भनाई छ ।
गाउँपालिकाले मागका आधारमा शिक्षक दरबन्दि रिक्त भएका विद्यालयमा स्वंयसेवक शिक्षक, अतिरिक्ता कक्षा संचालनका लागि शिक्षकको व्यवस्था गर्न अनुदान उपलब्ध गराउदै आएको उनले जानकारी दिए ।
नवदुर्गा गाउँपालिकाका ७ वटा माविबाट गत वर्षको एसइइमा १७७ जना विद्यार्थी सहभागी हुदा ३५ जना विद्यार्थी उत्तिर्ण भएका थिए । जिल्ला लगायत देशैभरको नजिता नै निराज जनक आउदा नवदुर्गा पनि अछुतो नरहेको उनको भनाई छ ।












