विद्यालय संचालक दम्पति बने अब्बल किसान

Image
विद्यालय बन्द गरेर व्यवसायीक कृषि गरिरहेकी बोहरा र उनको जमिनसंगै पछाडी कुखुराको खोर । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । २०७६ चैत अघिसम्म गाउँमै नीजि विद्यालय संचालन गरि राम्रै आम्दानी गरिरहनु भएका दम्पती अहिले व्यवसायीक किसानका रुपमा स्थापित भएका छन । कोरोना कहरमा भएको लकडाउनले जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ३ नुवाकोटका दम्पती सुनिता बोहरा र महेशप्रसाद बोहराले संचाल गरेको नीजि विद्यालय बन्द भयो । केही समयको लकडाउन पछि विद्यालय संचालन गरे पनि विद्यार्थी संख्या न्यून भयो । आफ्नै जमिनमा विद्यालय संचालन गरेका बोहराको विद्यालय वरपरको जमिनमा थोरै खेतीपाती गर्ने र केही बाँझो थियो ।

विद्यार्थी संख्या ५० मात्रै रहेपछि परम्परागत कृषिलाई व्यवसायीक रुपमा गर्ने अठोटकासाथ बोहरा दम्पती पूर्ण रुपमा कृषि कर्ममा लागे । बोहरा दम्पतीले करिब २२ रोपनी जमिनमा आलु खेतीसंगै विद्यालयका कोठा ठुला बनाई ब्रोईलर कुखुरा र तीन वटा पोखरी निर्माण गरि माछा पालनसमेत सुरु गरे । अहिले ७–८ वर्षको अन्तरातलमा उनले चार हजारसम्म कुखुराका चल्ला हुर्काउनुकासाथै एक हजार बढी माछाका भुरा, आलुखेती र बंगुर पालनसमेत गर्दै आईरहेका छन ।

आलु खेतीसंगै टर्नेल भित्र तरकारी खेतीमसतेत गर्दै आईरहेको बोहरा दम्पतीले बताए । जिल्ला सदरमुकाम बागबजारबाट करिब चार किमिको दुरी डोटी घटालको नुवाकोटमा उनले व्यवसायीक रुपमा कुखरा, माछा पालनसंगै तरकारी खेती गरिरहेका छन । उनका दुई छोरा मध्ये जेठा छोरा धनगढीको एक विद्यालय र कान्छा छोरा घर नजिककैकौ घटाल माविमा अध्ययनरत रहेको सुनिता बोहराले बताईन ।

चम्साल गाउँमा ससुरा बुवाको नाममा एक सयभन्दा बढी रोपनी जमिन छ । उनले भनिन्, तर सिचाईको समस्या छ । नुवाकोटमा करिब २२ रोपनि जमिन र खेत पनि छ । आलुखेती विस्तार गर्नेलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण आलु सुपरजोन डडेल्धुराले ५० प्रतिशत अनुदानमा बिद्युतिय मोटर जडान गरि लिफ्ट सिंचाई योजनामा सहयोग गर्ने भएपछि हामिले लिफ्ट सिचाई योजना निर्माण गर्यौ । हाल सिचाईसंगै माछा पालनसमेत गर्न सहज भएको छ ।

हालसम्म गरिएको कृषि कर्मबाट २० लाख रुपियाँको घरेडी र २० लाख बढीका संरचनाहरु पोखरी, टर्नेल, आवश्यक घरका कोठाहरु जोड्न सफल भएको उनले सुनाईन । एका तिर जमिन बाँझो नरहने र अर्को तिर रोजगारीका लागि घर बाहिर वा विदेश जानु नपरेको उनले बताईन । बुवाबाजेले गर्दै आईरहेको परम्परागत कृषिलाई व्यवसायीक रुपमा आफुहरुले अगाडी बढाएको उनको भनाई छ ।

हिउदमा तुसारो जम्ने भएकाले डोटी घटाल क्षेत्रमा तरकारी खेती गर्न सकिदैन । यसका लागि टर्नेल निर्माण गरि वेमौसमी तरकारी खेती गरिरहेको सुनिताका श्रीमान महेशप्रसाद बोहराले बताए । दुई सिजनमा आलु खेती गर्छौ । उनले भने, पहिले दुई कुन्टल आलुको बिउ लगाउथ्यौ । हाल २० कुन्टल बिउ लगाउदै आईरहेका छौ । टर्नेलभित्र टमाटर,भेडे खुर्सानी र फागुन महिनामा फर्सी, काउलीको बिउ राखेर तरकारी उत्पादन गर्दै आईरहेको छौ ।

घरमा बुढा बुवा, छोराहरुको हेरबिचारसंगै व्यवसायीक कृषिबाट सन्तुष्ट रहेको उनको भनाई छ । नोकरी अथवा अरुको काम गर्न पहिले देखिनै रुचि भएन । उनले भने, विद्यालय पनि संचालन गरिरहने योजना थियो । तर अहिले गाउँ गाउँमा सदरमुकामका विद्यालयहरुले बस पुगाउन थाले पछि विद्यार्थीको संख्यामा कमि आउदा बन्द गर्नु परेको उनले बताए ।