काठमाडौँ । दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको सिंहदरबारको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा जटिल र चुनौतीपूर्ण देखिएको छ । सिंहदरबारलाई दक्षिण एसियाकै उत्कृष्ट भौतिक संरचनाका रूपमा लिने गरिन्छ ।
भदौ २४ गते जेनजी प्रदर्शन क्रममा भएको आगजनीबाट भूकम्पभन्दा बढी क्षति पुगेका कारण पुनर्निर्माण जटिल र चुनौतीपूर्ण देखिएको हो । भूकम्पले सिंहदरबार भवनका संरचना भत्केको मात्र थियो तर आगजनीले खरानी नै पारेकाले त्यस्तो समस्या देखिएको हो । आगजनीले क्षतिग्रस्त सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाभन्दा पश्चिमी मोहडा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सहरी विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख ई। चक्रवर्ती कण्ठले भूकम्पको समयमा सिंहदरबारको संरचनामा तात्त्विक असर नपरेका कारण पुनर्निर्माण सहज भएको तर जेनजी प्रदर्शन क्रममा भएको आगजनीले संरचना जलेर खरानी बनेका कारण अहिले पुनर्निर्माण जटिल देखिएको बताए । सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमातहत सिंहदरबार भवनको मर्मतसम्भार तथा व्यवस्थापन हुँदै आएको छ ।
उनले भने, “भूकम्पले सिंहदरबारमा अहिलेको भन्दा कम क्षति भएको थियो । संरचना भत्केको मात्र थियो । भवनको जोर्नी (ज्वाइन्ट) मा मात्र क्षति पुगेको थियो । भवनको संरचनामा तात्त्विक असर परेको थिएन, जसलाई पुनः जोड्न र ठड्याउन सजिलो थियो । तर अहिले प्रायः संरचना खरानी भइसकेका छन् । इँटालगायतका वस्तु डढेर अस्तित्वविहीन बनेका छन् भने कतिपय बाङ्गिएका छन् । त्यसै गरी भित्ता, छत, खम्बालगायतका संरचना खरानी बन्नुका साथै भूकम्पछिको पुनर्निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत जलेर नष्ट भएका छन् ।”
खरानी भइसकेका सामान, वस्तु वा संरचना पुनः जोड्न वा ठड्याउन अवश्यै कठिन र चुनौतीपूर्ण कार्य रहेको बताउँदै कार्यालय प्रमुख ई. कण्ठले अहिले सिंहदरबार पुनर्निर्माण भूकम्पपछिको भन्दा कैयौँ गुणा जटिल र खर्चिलो हुने देखिएको स्पष्ट पारे । उनले भने, “अहिले पनि सिंहदरबार ठडिएको देखिए पनि भित्र केही पनि बाँकी छैनन् ।”
पुरातात्त्विक महत्वका समान नष्ट
कार्यालय प्रमुख ई. कण्ठले आगजनीले सिंहदरबारको पश्चिमी मोहडाको भवनमा रहेका पुरातात्त्विक महत्वका सामग्रीसमेत जलेर नष्ट भएको बताए । उनले भने, “पुरातात्त्विक महत्वका सामान भूकम्पबाट भएको क्षतिपछि पनि जोगाउन सफल भएको थियो । तर अहिले सबै जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । त्यस्ता सामग्री भूकम्पको बेला भुइँमा झरेको मात्र थियो । केही फुटेका थिए तर अहिले त सबै खरानी भएका छन् ।”
उनका अनुसार काठका दलिन जलेर खरानी बन्दा बेलायती बैठक कक्षलगायतका कोठाको छत खसेका छन् भने सो कक्षमा बिछ्याइएको मुलुकको अहिलेसम्मकै सबैभन्दा चौडाइ भएको गलैँचा खरानी भएका छन् । विश्वको विभिन्न मुलुकबाट ल्याइएका उपहार, कलाकृति, पुराना फाटोग्राफी, राणाकालीन बहुमूल्य पियानो, विभिन्न कलाकृति कुँदिएका सिसा, पेन्टिङ र पुराना घडीलगायतका सामग्री नष्ट भएका छन् । उनले भने, “आगोले यति नराम्रो गरी डढेको छ कि अहिले सिंहदरबारभित्र कुनै संरचनाको अडेस वा समातेर उक्लिन सक्ने अवस्था छैन ।”
स्वरूपमा परिवर्तन नगरी पुनर्निर्माण
कठिन, चुनौतीपूर्ण र खर्चिलो भए पनि क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण सम्भव रहेको उनले बताए । उनले भने, “सिंहदरबार पुरातात्त्विक र ऐतिहासिक महत्वको सम्पदा रहेका कारण यसलाई भत्काउन मिल्दैन । त्यही भएर यसको पुनर्निर्माण (प्रबलीकरणै) गर्नुपर्ने छ । सिंहदरबारको पहिलेको स्वरूपमा परिवर्तन नहुने गरी पुनर्निर्माण गरिने उनले स्पष्ट पारे ।
विक्रम संवत् १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक, युरोपमा विकास भएको ‘नियो क्लासिकल’ शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो । प्रधानमन्त्री चन्द्रशमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाई आफ्नो निजी निवासका रूपमा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाए ।
वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित पाँचतले भवनका विशेषतः चार वटा महत्वपूर्ण भाग छन् । उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल (टोटल बुल्ट अप एरिया) १२ हजार ४६१.८१ वर्गमिटर छ ।
















