दार्चुला । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने राष्ट्रिय महत्वको महाकाली कोरिडोर सडक योजनाअन्तर्गत हालसम्म २८७.५ किलोमिटर सडक ट्र्याक खुलिसकेको छ । तर अझै ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।
आर्थिक वर्ष २०६५/६६ देखि सञ्चालनमा रहेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाले १८ वर्षको अवधिमा उल्लेख्य प्रगति हासिल गरेको योजना प्रमुख ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया हुँदै दार्चुलाको लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटर सडक खण्डमध्ये अधिकांश भागमा ट्र्याक खुलिसकेको छ ।
हालसम्म कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ३४.४ किलोमिटर, बैतडीमा १३८.९ किलोमिटर तथा दार्चुलामा १०३.२ किलोमिटर सडक ट्र्याक खोलिएको छ ।
योजना अनुसार कुल ४१३ किलोमिटर सडक निर्माण हुने बताइएको छ । यसमध्ये दार्चुलाको तुसारपानीदेखि तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले हालसम्म १९.८ किलोमिटर ट्र्याक खोलिसकेको तथा १२ किलोमिटरसम्म सवारी सञ्चालन गराइसकेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कोरिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको थियो । पछि थप १५ करोड रुपैयाँ बजेट रकमान्तर गरिएको र हालसम्म चार करोड रुपैयाँ खर्च भइसकेको योजना कार्यालयले जनाएको छ ।
यसै आर्थिक वर्षमा डडेल्धुरामा १.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने डडेल्धुरा र बैतडीमा गरी सात किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । दार्चुलामा १२ किलोमिटर सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको बताइएको छ ।
योजनाअन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिका क्षेत्रको सलेती–बेत खण्ड र खलङ्गा–सुन्सेरा सडक खण्डमा कालोपत्रेको काम भइरहेको छ । साथै, महाकाली कोरिडोर अन्तर्गत ६.२ किलोमिटर सडक कालोपत्रेका लागि ५१ करोड ९९ लाख रुपैयाँको स्रोत सुनिश्चितता भएको योजना प्रमुख कार्कीले जानकारी दिए ।
महाकाली कोरिडोरलाई सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय विकाससँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।












