कञ्चनपुर । कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५ रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको शव सोमबार बिहान घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सुनारकी श्रीमतीले बिहान करिब ७ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रहार गरी सुनारको हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ । मृतकको घाँटी तथा शरीरका विभिन्न भागमा चोट देखिएको बताइएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।












