सुक्दै पानीका नाउला

Image

बाजुरा। पानीका नाउला धमाधम सुक्दैन थालेका छन् । पुस्तौँदेखि पानी खान प्रयोगमा आएका नाउला पछिल्लो समय सुक्न थालेका हुन् । मानिस तथा गाईगोरुलाई समेत पानी खान सहज हुने गरेका पानीका नाउला सुक्न थालेको बुढीनन्दा नगरपालिकाका दत्त विकले बताए ।

उनले भने, “माथि लेकमा खर्क छाना छन् । गाईभैँसी लेकमा लगेको समयमा प्रयोगमा आउने गरेका पानीका नाउला सुकिरहेका छन् । हामी लेकमा जाँदा त्यही नाउलाको पानी खान्थ्यौँ । ती सुक्दा कठिनाइ हुन थालेको छ ।”

यस्तो समस्या बाजुराका नौ वटै स्थानीय तहमा देखिन थालेको छ । यहाँका लेकमा रहेका खर्कमा भेडाबाख्रा, गाईभैँसी चराउन लैजाँदा आफू र वस्तुभाउका लागि पानी खान समस्या हुने गरेको छ ।

गाउँमा जथाभाबी सडक खन्दा बाढीपहिरोको जोखिम बढ्नुका साथै नाउला पनि सुक्न थालेको स्थानीय बुढापाकाको भनाइ छ ।