पुर्खाको अद्भुत सीपको नमुना, संरक्षण नपाउँदा जीर्ण बन्दै ऐतिहासिक ढुंगे न्वालो

Image

डडेल्धुरा । पहाडका गाउँहरूमा पानीका मुहान केवल प्यास मेटाउने थलो मात्र होइनन्, ती गाउँको इतिहास, संस्कृति, सभ्यता र सामूहिक जीवनशैलीका जीवित दस्तावेज पनि हुन्। समयसँगै धेरै यस्ता मुहानहरू ओझेलमा पर्दै गएका छन्। तर डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चिपुरको मड गाउँमुनि रहेको एक विशाल ढुंगे न्वालो आज पनि पुर्खाको अद्भुत सीप, श्रम र दूरदृष्टिको साक्षी बनेर उभिएको छ।

पहिलो नजरमा हेर्दा यो संरचना कुनै साधारण न्वालो जस्तो लाग्दैन। ठूला–ठूला ढुंगाले निर्माण गरिएको करिब १८ फिट अग्लो यो संरचना प्राचीन वास्तुकलाको अनुपम नमुना हो। केही भाग जमिनमुनि गाडिएको छ भने माथिल्लो भाग डोम शैलीमा निर्माण गरिएको छ। तीन वटा ढोका रहेको यो न्वालो हेर्दा सानो मन्दिर वा ऐतिहासिक स्मारकजस्तो देखिन्छ। वरिपरिको वातावरण र यसको कलात्मक बनावटले जो कोहीलाई पनि केहीबेर अडिएर हेर्न बाध्य बनाउँछ।

चिपुर क्षेत्र नजिकै रहेको कलात्मक दुईतले ढुंगे हातपाटीका कारण पहिलेदेखि चर्चित भए पनि मड गाउँमुनिको यो विशाल न्वालो भने अझै धेरैको नजरबाट टाढै छ। तर यसको महत्व र विशेषता असाधारण छ। स्थानीयहरूका अनुसार यहाँको पानी अहिलेसम्म कहिल्यै सुकेको छैन।

८० वर्षीय स्थानीय जयबहादुर बिष्टका अनुसार २०१७ सालतिर केही सरकारी सहयोग र बाँकी स्थानीयवासीको चन्दा तथा श्रमदानबाट यो न्वालो निर्माण गरिएको थियो। निर्माण कार्यका लागि बैतडीको बबैतीबाट दक्ष कारिगर बोलाइएको थियो। त्यतिबेला गाउँमा खानेपानीको सुविधा अत्यन्त सीमित थियो। गाउँमुनि रहेको सानो मूलमा सानो न्वालो भए पनि बढ्दो आवश्यकताका कारण ठूलो संरचना निर्माण गर्ने निर्णय गरिएको थियो।

‘त्यो बेला गाउँमा अरु खानेपानीको सुविधा थिएन। मानिसहरू पानीका लागि निकै दुःख पाउँथे,’ बिष्ट सम्झन्छन्, ‘त्यसैले यो न्वालो निर्माण हुनु गाउँका लागि ठूलो उपलब्धि थियो। स्थानीय सबैले श्रमदान र आर्थिक सहयोग गरेर बनाएका हौं।’

यो न्वालो केवल मड गाउँको मात्र होइन, आसपासका धेरै बस्तीहरूको जीवनरेखा बनेको थियो। विशेषगरी खडेरीका बेला अन्य न्वालाहरू सुक्दा पनि यहाँको पानी निरन्तर बगिरहन्थ्यो। स्थानीयहरू तामाका गाग्री बोकेर यहीँबाट पानी भरेर घर लैजाने गर्थे। आधा दर्जनभन्दा बढी गाउँका बासिन्दा यही मुहानमा निर्भर थिए।

समय परिवर्तनसँगै गाउँमा खानेपानीका धारा विस्तार भए। घर–घरमै पानी पुग्न थालेपछि न्वालोको दैनिक चहलपहल कम भयो। बिहानैदेखि पानी भर्न आउने महिलाहरूको लाम लाग्ने दृश्य अब इतिहासजस्तै बनेको छ। तर यसको महत्व भने अझै समाप्त भएको छैन।

धाराको पानी अवरुद्ध हुँदा, पाइपलाइन बिग्रँदा वा अन्य मुहान सुक्दा स्थानीयको भरोसा आज पनि यही न्वालोमा रहने गरेको छ। यही कारणले यो मुहान अझै हजारौँ मानिसका लागि सुरक्षित पानीको स्रोतका रूपमा चिनिन्छ। न्वालोमुनिको क्षेत्रमा केही स्थानीयले पानी संकलनका लागि टंकी निर्माण गरी तरकारी खेती र रोपाइँसमेत गर्दै आएका छन्।

यद्यपि, समयको प्रभाव अब यसको संरचनामा पनि देखिन थालेको छ। न्वालोसम्म पुग्ने सिँढी तथा दायाँ–बायाँका पर्खाल २०६२ सालमा निर्माण गरिए पनि त्यसपछि संरक्षणका लागि उल्लेखनीय काम हुन सकेको छैन। अहिले न्वालोको केही भाग जीर्ण बन्दै गएको स्थानीय राम बिष्ट बताउँछन्। विशेषगरी बायाँतर्फको भागमा क्षय देखिन थालेको उनको भनाइ छ।

‘यदि समयमै संरक्षण भएन भने यो सम्पदा बिस्तारै नष्ट हुन सक्छ,’ उनी भन्छन्।

डडेल्धुराका विभिन्न गाउँमा रहेका पुराना ढुंगे न्वाला, पोखरी र पानीका मुहान आधुनिक पूर्वाधारको विस्तारसँगै ओझेलमा पर्दै गएका छन्। तर ती संरचनाले बोकेको इतिहास, स्थानीय ज्ञान र निर्माणकला भने अमूल्य सम्पत्ति हुन्।

मड गाउँको यो विशाल न्वालो केवल पानीको स्रोत मात्र होइन। यो तत्कालीन समाजको सामूहिक श्रम, सीप र सामाजिक एकताको प्रतीक हो। आधुनिक प्रविधि, मेसिन र यातायातको सुविधा सीमित रहेको समयमा यति विशाल ढुंगे संरचना निर्माण गर्नु आफैंमा असाधारण उपलब्धि थियो।

आज पनि न्वालोभित्रबाट निरन्तर बगिरहेको पानीले एउटा सन्देश दिइरहेको छ—पुर्खाले छोडेर गएका सम्पदाहरू केवल विगतका अवशेष होइनन्, ती हाम्रो पहिचान र इतिहासका जीवित स्मारक हुन्। यिनको संरक्षण गर्नु केवल एउटा संरचना जोगाउनु होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान, सीप र सभ्यतालाई जोगाउनु पनि हो।

मड गाउँमुनि उभिएको यो तीन ढोके विशाल ढुंगे न्वालो अहिले पनि समयसँग संवाद गरिरहेको छ। प्रश्न यति मात्र हो—के हामी यसको आवाज सुन्न तयार छौं? कि यसलाई पनि इतिहासका हराएका अध्यायमध्ये एक बन्न दिनेछौं?