गौराघरमा भित्र्याईदै गौरादेवी, भोलि अठ्यावाली

Image

डडेल्धुरा । सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको रौनक गाउँदेखि सहरसम्म फैलिएको छ । गौरापर्वअन्तर्गत बिहीबार तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई विधिपूर्वक गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा ‘भितरीकी गौरा’ अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिन गौरापर्वको महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।

बिहानै नुवाइधुवाइ गरी शुद्ध भएर ब्रतालु महिलाहरू साँझपख गौरादेवीलाई गौराघरमा भित्र्याउने परम्परा छ । अमुक्ताभरण सप्तमीका अवसरमा महिलाहरू एकै ठाउँमा भेला भएर फाग गाउँदै गौरादेवीको पूजा गर्छन् । फागका माध्यमबाट देवीदेवताको स्तुति, पारिवारिक सुख–समृद्धि तथा सन्तानको कल्याणको कामना गर्ने गरिन्छ ।

स्थानीय संस्कृतिका जानकार पण्डित लोकराज भट्टका अनुसार ‘ठूली गौरा’का दिन गौरादेवी र महेश्वरको प्रतिमूर्ति स्थापना गरी फलफूल तथा बिरुडाले पूजा गर्ने चलन छ । महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो ‘दुबधागो’ पनि यही दिन गौरादेवीलाई चढाउने परम्परा रहेको उनी बताउनछन ।

वनस्पतिबाट बनाइन्छ गौरा

गौरापर्वको मौलिकता प्रकृति र स्थानीय वनस्पतिसँग पनि जोडिएको छ । साउ, अपामार्ग, तिललगायतका वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाउने गरिन्छ । खेतबारी तथा आसपासका क्षेत्रमा पाइने वनस्पति सङ्कलन गरी त्यसलाई विधिपूर्वक तयार पारेर गौराघरमा भित्र्याइन्छ ।

सुदूरपश्चिमको ग्रामीण जीवन, कृषि संस्कृति र प्रकृतिसँग गौरापर्वको गहिरो सम्बन्ध रहेको यस परम्पराबाट देखिन्छ । आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि धेरै गाउँमा पुस्तौँदेखि चल्दै आएको यो परम्परा अझै जीवित छ ।

गौराको समयमा महिलाले लगाउने ‘दुबधागो’को पनि आफ्नै सांस्कृतिक महत्व छ । तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाहरूले गौरापर्वमा दुबधागो धारण गर्ने परम्परा रहेको पण्डित भट्ट बताउछन ।

आज गौरादेवीमा समर्पण गरिएको दुबधागो भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले धारण गर्ने गर्छन् । नयाँ दुबधागो गौरादेवीलाई चढाएर पूजा गर्ने र अठ्यावालीको विधि सम्पन्न भएपछि धारण गर्ने परम्परा छ ।

कुण्ड स्नानदेखि अठ्यावालीसम्म

ठूली गौराको दिन साँझ ब्रतालु महिलाहरूले कुण्डमा स्नान गर्ने चलन पनि छ । स्नानपछि पूजा तथा धार्मिक विधि पूरा गरेर महिलाहरू गौरादेवीप्रति श्रद्धा व्यक्त गर्छन् ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीमा गौरा र महेश्वरको पूजा गरेपछि ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाने चलन छ । व्रत तथा पूजाका कारण दिनभर संयमित रहने महिलाहरूले साँझ धार्मिक विधि सम्पन्न गरेपछि प्रसादका रूपमा विशेष परिकार खाने गर्छन् ।

यससँगै शुक्रबार अर्थात् भोलि गौराष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । अठ्यावालीलाई गौरापर्वको विशेष दिन मानिन्छ । यस दिन गौरालाई गौराघरबाट गौराखलामा लगेर सामूहिक रूपमा पूजा गर्ने परम्परा छ । गौराखलामा भेला भएर महिला तथा पुरुषले पूजाआजा गर्नुका साथै विभिन्न सांस्कृतिक गतिविधिमा सहभागी हुने गर्छन् ।

फागदेखि ठाडो खेलसम्म

गौरापर्व धार्मिक आस्था र पारिवारिक सुख–समृद्धिको पर्व मात्र होइन, सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको जीवन्त उत्सव पनि हो । पर्वका अवसरमा गाउँघरमा फाग, धमारी, ढुस्को, चैत तथा ऐतिहासिक ठाडो खेलजस्ता मौलिक सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन् ।

विशेषगरी ठाडो खेल र धमारीले गौराको सांस्कृतिक रौनक थप्ने गर्छ । पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका यस्ता लोकसंस्कृतिले सुदूरपश्चिमको सामाजिक इतिहास, जीवनशैली र सामूहिक भावनालाई प्रतिबिम्बित गर्छन् ।

गौराका गीतमा देवीदेवताप्रतिको आस्था मात्र हुँदैन, समाज, परिवार, प्रेम, दुःख–सुख र तत्कालीन सामाजिक जीवनका कथासमेत समेटिएका हुन्छन् । त्यसैले गौराका फाग र लोकखेललाई सुदूरपश्चिमको मौखिक इतिहासका रूपमा समेत हेर्ने गरिन्छ ।

घर फर्किन्छन् परदेशी

गौरा पर्व सुदूरपश्चिमेलीका लागि धार्मिक पर्वसँगै पारिवारिक मिलनको अवसर पनि हो । रोजगारी, अध्ययन तथा विभिन्न कारणले देशका अन्य सहर र विदेशमा रहेका सुदूरपश्चिमेलीहरू सकेसम्म गौराका लागि घर फर्किने गर्छन् ।

गाउँमा टाढाटाढाबाट आफन्तजन भेला हुने, नयाँ लुगा लगाउने, सामूहिक रूपमा पूजा गर्ने र फाग तथा लोकखेलमा सहभागी हुने भएकाले गौराको समयमा गाउँघरमा छुट्टै चहलपहल देखिन्छ ।

सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्वका साथ मनाइने गौराले यहाँको सामाजिक सम्बन्धलाई समेत जोड्ने गरेको छ । परिवार, आफन्त र समुदायलाई एउटै ठाउँमा भेला गराउने भएकाले यस पर्वलाई सामाजिक एकता र सांस्कृतिक निरन्तरताको पर्वका रूपमा समेत लिइन्छ ।

आधुनिकता र बसाइँसराइका कारण परम्परागत जीवनशैलीमा परिवर्तन आइरहे पनि गौरा पर्वप्रतिको आस्था भने कमजोर भएको छैन । बरु देशका विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेली समुदायले समेत सामूहिक रूपमा गौरा मनाउन थालेका छन् ।

गौराघरमा भित्रिँदै गरेकी गौरादेवीसँगै सुदूरपश्चिमका गाउँबस्तीमा मौलिक संस्कृति, आस्था र पारिवारिक आत्मीयताको वातावरण बनेको छ । भोलि अठ्यावालीसँगै गौरा गौराखलामा पुग्नेछिन्, जहाँ पूजा–आराधनासँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सुदूरपश्चिमको लोकसंस्कृति फेरि एकपटक जीवन्त बन्नेछ ।